प्रधानमन्त्री संसद्प्रति गैरजिम्मेवार बनेको माओवादी सांसद सापकोटाको आरोप

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

Maoist MP Sapkota alleges that the Prime Minister has become irresponsible to Parliament

काठमाडौँ — माओवादी सांसद माधव सापकोटाले प्रधानमन्त्री संसद्प्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आइतबार संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले तीनकुनेमा भएको व्यवस्था विरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसद्‍मार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने बताए ।

'आज प्रधानमन्त्रीले संसद्‍मा आएर सबै घटनाक्रमका बारेमा देशलाई अपिल गर्ने, गणतन्त्रवादीलाई एकताबद्ध गराउने र यो व्यवस्थाका बारेमा विश्वास आर्जन गर्ने एउटा ठुलो अवसर थियो । यति ठूलो कुरा संसद्‍मा आएर नगरेर प्रधानमन्त्री कहाँ अल्मलिरहनुभएको छ ? यसले के देखाउँछ भने यो व्यवस्थालाई रक्षा गर्नका निमित्त, यो व्यवस्थालाई सुदृढ गर्नका निमित्त, विधि मूल्य मान्यतालाई सुदृढ गरेर अगाडि लैजानका लागि प्रधानमन्त्री जिम्मेवार हुनुहुन्न,' उनले भने । 

सांसद सापकोटाले गणतन्त्रवादीलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनु पर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको जिकिर गरे । उनले प्रधानमन्त्रीले उच्छृंखल र अराजकतालाई मलजल गरेको आरोप  लगाए । व्यवस्थाविरोधी तीनकुने घटनामा मान्छेलाई थुनेर आगो लगाएर हत्या हुँदा समेत प्रधानमन्त्रीले कुनै सम्बोधन नगरेर लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउने अवसर गुमाएको उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully