अमेरिकाबाट 'डिपोर्ट' गरिएका भुटानीलाई पुनः नेपाल पठाउँदै भुटान

नेपालको प्रशासन भन्छ, ‘जुन बाटो आएका हुन्, त्यही बाटो फर्काउने गृहकार्य भइरहेको छ ।’

चैत्र १७, २०८१

पर्वत पोर्तेल

Bhutan is sending the Bhutanese who were 'deported' from America back to Nepal

विराटनगर — आपराधिक गतिविधिमा संलग्न भएका कारण अमेरिकाले १० जना भुटानीलाई ‘डिपोर्ट’ गरेर भुटान पठायो । तर, भुटान सरकारले डिपोर्ट भएर आएका सबैलाई पुनः शरणार्थीका रुपमा नेपाल फर्काइ दिएको छ ।

अमेरिकाबाट दिल्ली हुँदै थिम्पुको पारो विमानस्थल ओर्लिएका उनीहरूलाई त्यहाँको प्रशासनले साढे ६ घन्टा दुरीको यात्रा गराएर भारत–भुटान सीमावर्ती नाका फुन्छ्योलिङ–जयगाउँमा छाडिदिएको थियो। त्यसपछि भारतीय सुरक्षाकर्मीले उनीहरूलाई १ सय ६६ किलोमिटर यात्रा गराएर पूर्वी नेपालको सीमावर्ती बिन्दु पानीट्यांकीमा छाडिदिए।

शुक्रबार राति पानी ट्यांकी आइपुगेका उनीहरू लुकीछिपी नेपाल प्रवेश गरेका छन्। उनीहरूमध्ये अनधिकृतरुपमा नेपाल प्रवेश गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काँकडभिट्टा–पानीट्यांकी नाकामा कोरोना महामारीयता भारतले आउजाउ गर्ने यात्रुलाई एकतर्फी रुपमा परिचय पत्र ‘भेरिफिकेसन’ गर्दै आएको छ । जसका कारण यो नाकाबाट आउजाउ गर्न विगतको जस्तो निर्बाध छैन। तर, ती भुटानीहरू भने नाकामा दलाललाई घुस दिएर रातको समयमा नेपाल छिरेको खुलेको छ।

मेचीपुलको मुख्य नाकाबाट आउन मुस्किल भएपछि पानीट्यांकी दक्षिणको खोरीबारी नाका हुँदै दलालले उनीहरूलाई मेची तारेका थिए । जसबापत उनीहरूले जनही १०/१० हजार तिरेका थिए । शुक्रबार बेलुका ९ बजे बेलडाँगी आइपुगेका उनीहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

लुकीछिपी नेपाल छिरेर बेलडाँगी शिविर आइपुगेका आशिष सवेदी, सन्तोष दर्जी र रोशन तामाङलाई प्रहरीले  शनिबार दिउँसो पक्राउ गरी अध्यागमन कार्यालय काँकडभिट्टामा बुझाएको छ। आशिष सोझै बुवालाई भेट्न छाप्रो छिरेका थिए । उनीहरू आएको हल्ला शिविरमा फैलिएको र त्यसपछि सुरक्षाकर्मीले पक्राउ गरेको भुटानी अधिकारकर्मी दिल भुटानीले जानकारी दिए ।

अधिकारकर्मी दिल भुटानीका अनुसार पारो विमानस्थलमा अध्यागमन र सुरक्षा अधिकारीले तत्कालै देश छाड्न निर्देश गरेका थिए । त्यसपछि उनीहरूलाई गाडीमा राखेर जयगाउँ (भारतको) सिमाना ल्याएर छाडिएको थियो ।

‘उनीहरूलाई भुटानी अधिकारीहरूले तिमीहरू यो देशका नागरिक हैनौं, तत्काल भुटान छाड्दा तिमीहरूलाई फाइदा हुन्छ’ भन्दै गाडीमा कोचेर सीमावर्ती फुन्छ्योलिङ–जयगाउँ पुर्‍याइएको थियो। १० मध्ये बाँकी ७ जना पनि अवैध रुपमा नेपाल प्रवेश गरेर अज्ञात स्थानमा बसेको प्रहरीको अनुमान छ। नेपाल प्रहरीले पक्राउ गर्ने त्रासका कारण उनीहरू गोप्य रुपमा लुकेर बसेका छन्।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले अवैध रुपमा प्रवेश गरेका भुटानीलाई भुटानतिरै फर्काउने गृहकार्य भइरहेको जनाए । ‘उनीहरू जुन बाटो आएका हुन् त्यतै पठाउने माथिको आदेश छ’, उनले भने,‘हामी त्यही गर्छौं ।’

भुटानी कि नेपाली ?

भुटानबाट लखेटिएपछि नेपालमा शरणार्थीकारुपमा बसेका भुटानीहरूलाई पुनर्वास योजनाअन्तर्गत अमेरिका पुर्‍याइएको थियो। तर त्यहाँ पुगेपछि आपराधिक गतिविधिमा संलग्न भएकोमा अमेरिकाले त्यस्ता व्यक्तिलाई डिपोर्ट गरी फिर्ता पठाउन लागेको हो।

हालै त्यसरी आपराधिक गतिविधिमा संलग्न ४० जनालाई डिपोर्ट गर्ने तयारी छ। त्यसमध्ये १० जना शुक्रबार भुटान फर्काइएका थिए। अब उनीहरूको ‘डिपोर्टेसन’ (निर्वासन) को गन्तव्य कहाँ हुने भन्ने विषयमा गम्भीर बहस सिर्जना भएको छ ।

अमेरिकाले डिपोर्ट गरेर भुटान पठायो। तर भुटानले फेरि नेपाल पठाइदिएपछि अब उनीहरूको निर्वासनको गन्तव्य कहाँ हुने भन्ने अन्योल सिर्जना भएको छ। अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) का अनुसार, ती व्यक्तिहरू आपराधिक गतिविधिसँग जोडिएको पुराना रेकर्डका आधारमा पक्राउ परेका थिए ।

उनीहरू सन् २०१२ पछि आपराधिक घटनाका मुछिएर पक्राउ परेका हुन् । पेन्सिलभेनिया राज्यका ३० भन्दा बढी भुटानी शरणार्थी आईसीईको हिरासतमा छन् । शरणार्थीका अधिकारकर्मीहरूका अनुसार भुटानी शरणार्थीलाई गरिएको डिपोर्टले अनिश्चितता र भय उत्पन्न भएको छ । भुटानीको रुपमा फर्काइने उनीहरूलाई भुटानले आफ्ना नागरिक मानेको छैन ।

‘भुटानले आफ्नो नागरिकको रुपमा सुरुमा स्वीकार गर्‍यो’, अधिकारकर्मी भुटानीले भने,‘तर, अहिले पुनः डर त्रास देखाएर नेपालतिर लखेट्ने काम भइरहेको छ ।’ उनका अनुसार भुटानबाट लखेटिएका उनीहरूसँग अब नेपालमा पनि बस्न सक्ने वैधानिक आधार पनि छैन ।

उनी भन्छन्,‘उनीहरू कहाँका नागरिक हुन् यस विषयमा नेपाल सरकारले गम्भीर भएर सोच्न जरुरी छ ।’ अमेरिकामा बसेका भुटानी शरणार्थीको समुदाय शंका र भयमा बाँचिरहेको अधिकारकर्मीहरूको भनाइ छ।

डिपोट भइहाले कहाँ जाने भन्नेबारे उनीहरू अन्यौलमा छन् । ‘भुटानले आफ्नो नागरिक मान्दैन, नेपालमा उनीहरूको बस्ने आधार छैन’, अर्का अधिकारकर्मी टीबी राईले प्रश्न गरे, ‘यस्तो बेलामा उनीहरूको मानवअधिकारको रक्षा कसले गर्छ ?’

पछिल्लो समय अमेरिकाले भुटानलाई आफ्नो ट्राभल रेस्ट्रिक्शन (यात्रा प्रतिबन्ध) सूचीमा समेटेको छ । जसले भुटानी शरणार्थी र तिनीहरूको भविष्यमा प्रत्यक्ष असर पार्ने सम्भावना छ । यस सूचीमा भुटानलाई समेट्नुका पछाडि अमेरिकी प्रशासनको कडा दृष्टिकोण र भुटानी शरणार्थीका आपराधिक गतिविधिसँगको सम्बन्ध हो । भुटानी शरणार्थी अगुवाहरूले भुटान र नेपाल बीचको यस घटनामा कूटनीतिक दबाब र न्यायपूर्ण समाधानको पक्षमा आवाज उठाउन जरुरी रहेको जनाएका छन् ।

‘यस घटनाले भुटानी शरणार्थी समुदायमा एक पटक फेरि असुरक्षित र अनिश्चित भविष्यको त्रास पैदा भएको छ’, अमेरिकामा रहेका भुटानी अधिकारकर्मी तिलक निरौलाले भने,‘यो विषयलाई चाँडो हल गरिएन भने भविष्यमा समस्या जटिल बन्न सक्छ ।’

निरौलाले केही दिनअघि गभर्नर जोश शापिरो, सेनेटर जोन फेटरम्यानको कार्यालय, कंग्रेसम्यान पेरी र संयुक्त राष्ट्र शरणार्थी उच्च आयोगका प्रतिनिधिहरूसँग भेटेर शरणार्थी समस्यावारे ध्यानाकर्षण गराएका थिए । अमेरिकामा हाल १ लाख वढी भुटानी शरणार्थी बस्दै आएका छन् । जसमध्ये ७० हजार बढी पेन्सिलभेनिया राज्यमा छन् ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully