१५ वर्षपछि राष्ट्रिय बाह्य मिचाहा प्रजाति रणनीति स्वीकृत

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

After 15 years, the National Exotic Species Strategy was approved

काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज राष्ट्रिय बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजना स्वीकृत गरेका छन् । 

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरी विगत १५ वर्षदेखि स्वीकृत प्रक्रियामा रहेको र स्वीकृत हुन नसकेको राष्ट्रिय मिचाहा प्रजातिको रणनीति तथा कार्यान्वयन २०८१ योजना आज मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको हो । 

अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्य सरोकारवाला निकायको राय सुझाव समावेश गरी तयार गरिएको रणनीति योजना करिब १५ वर्षपछि स्वीकृत भएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीले जानकारी गराए ।

जटिल समस्याका रूपमा रहेको मिचाहा प्रजातिलाई यस रणनीतिले नियन्त्रण गर्न र फैलावट हुन नदिने महानिर्देशक केसीले बताए ।

एक अध्ययनअनुसार नेपालबाहिरबाट १ सय ७० प्रजातिका वनस्पति भित्रिएका छन् । तीमध्ये २५ भन्दा बढी मिचाहा प्रकृतिका हुन् । तीमध्ये ६ वटालाई उच्च जोखिम गर्ने मिचाहा प्रजाति मानिएको छ ।

लहरे वनमारा (माइकेनिया म्याकारान्था/माइल्स अ मिनेट), तीतेपाती झार (पार्थेनियम), कालो वनमारा, सेतो वनमारा, जलकुम्भी र वनकाँडाले उच्च जोखिम निम्त्याएको वनस्पतिविज्ञहरू बताउँछन् । यी सबै अमेरिका हुँदै अरू देशमा फैलिएका हुन् । यी प्रजातिले वन्यजन्तुले मन पराउने घाँस, पानीका घोल र बासस्थान ढाकिदिएका छन् ।

माइकेनिया म्याकारान्था र जलकुम्भीले धेरै असर निम्त्याएका छन् । झापा हुँदै भित्रिएको माइकेनिया दाङ, तुलसीपुरसम्म पुगेको छ भने जलकुम्भीले फेवातालसहित देशका धेरै तालतलैया र पानीका घोल ढाकिदिएको छ । अन्य देशमा प्राकृतिक रूपमा उत्पत्ति भई विभिन्न माध्यमबाट नेपाल प्रवेश गरी प्राकृतिक रूपमा फैलिएका, वातावरण, जैविक विविधता वा मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने, प्रतिकूल बासस्थानमा पनि हुर्कन र फैलिन सक्ने क्षमता भएका वनस्पति मिचाहा प्रजाति हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully