विराटनगर — अमेरिकाबाट डिपोर्ट भई अवैध रूपमा नेपाल प्रवेश गरेका भुटानी शरणार्थीलाई ‘राख्ने कि पठाउने’ भन्ने बारे प्रशासन अन्योलमा परेको छ । जिल्ला प्रशासन कार्यालय झापाले भुटानी शरणार्थीहरूलाई के गर्ने भन्ने विषयमा छलफल जारी रहेको जनाएको छ ।
शुक्रबार दिउँसो बेलडाँगी शिविरवाट पक्राउ परेका आशिष सुवेदी, सन्तोष दर्जी र रोशन तामाङलाई प्रहरीले पक्राउ गरी अध्यागमन कार्यालय काँकडभिट्टामा राखिएको छ ।
अमेरिकाबाट डिपोर्ट गरेर पठाइएका १० जना शरणार्थीलाई भुटान सरकारले ‘आफ्नो नागरिक’ मान्न अस्वीकार गरेपछि शुक्रबार उनीहरूलाई भारतीय सुरक्षा निकायको सहयोगमा नेपाल–भारतको सीमानाका पानीट्यांकीमा छाडिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले उनीहरूलाई राख्ने कि फिर्ता पठाउने भन्ने विषयमा अध्यागमन विभागसँग छलफल भइरहेको जनाए । ‘छलफल भइरहेको छ,’ आचार्यले भने,‘यतै राख्ने कि पठाउने भन्नेबारे टुंगो लागेको छैन ।’
पीडित शरणार्थीहरूका अनुसार, उनीहरू भुटानी नागरिक भएपनि त्यो कुरा मान्न भुटान तयार देखिएको छैन । सन् १९९० को दशकमा भुटानबाट लखेटिएका करिब डेढ लाख भुटानी नेपालको झापा र मोरङका शरणार्थी शिविरमा बस्थे ।
एक दशकअघि उनीहरूलाई संयुक्त राष्ट्र शरणार्थी उच्च आयोग (यूएनएचसीआर) को पहलमा पुनर्वास भई अमेरिका, क्यानाडा, नर्वे, अस्ट्रेलियालगायतका देश गएका थिए । अहिले झापाको बेलडाँगी र मोरङको पथरी–शनिश्चरेमा करिव १० हजार हाराहारी शरणार्थी छन् ।
विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा अमेरिकाले केही समयअघि ४० जना शरणार्थीलाई डिपोर्ट गरेको थियो । जसमध्ये १० जना शुक्रबार भुटान ओर्लिएका थिए । तर, भुटानले तिनीहरूलाई नागरिक मान्न इन्कार गरेपछि उनीहरूलाई भारतीय सीमामा लगेर छाडिएको थियो ।
अहिले पनि कतिपय शरणार्थीहरू मातृभूमिमा फर्कन चाहिरहेका छन् । तर, भुटानले अहिलेसम्म उनीहरुलाई नागरिक अस्वीकार गरेको छैन । जसका कारण उनीहरू अहिले पनि शरणागत जीवन बिताउन बाध्य छन् ।
