काठमाडौँ — राजावादी समूहले शुक्रबार गरेको तोडफोड र आगजनी पछि आलोकनगरस्थित नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको कार्यालयको समाजवादी मोर्चाका नेताहरुले स्थलगत अनुगमन गरेका छन् ।
शुक्रबारको अप्रिय घटनापछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रमचन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, माओवादीका महासचिव देव गुरुङ, नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरुले शनिबार बिहान नेकपा एसको पार्टी कार्यालयमा गएर स्थलगत अनुगमन गरेका हुन् । अनुगमनपछि उनीहरु बैठकमा सहभागी भएका छन् ।
काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार राजावादीले प्रदर्शन गर्ने क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाप्रति राजनीतिक दलहरूले भर्त्सना गरेका छन् । कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीलगायत दलले विज्ञप्ति जारी गर्दै आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग राखेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले पनि समाजवादी मोर्चाका तर्फबाट विज्ञप्ति निकाल्दै राजावादीको क्रियाकलापप्रति भर्त्सना गरेका छन् ।
