'नागरिकलाई हत्या गर्न उक्साउनेलाई तत्काल कारबाही होस्'
काठमाडौँ — एमाले सांसद पदम गिरीले ज्ञानेन्द्र शाहलाई राज्यकोषबाट दिएको सेवा सुविधा र सुरक्षा सरकारले तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।
'ज्ञानेन्द्र शाहलाई राज्यकोषबाट दिएको सेवा सुविधा र सुरक्षा सरकारले तत्काल फिर्ता लिनुपर्छ,'कान्तिपुरसँग शनिबार कुराकानी गर्दै गिरिले भने, 'राज्यकोषबाट सेवा सुविधा र सुरक्षाको सुविधा लिने अनि निहत्था नागरिकलाई ज्यान मार्ने आन्दोलनमा उक्साहट गर्ने, निजी तथा सार्वजनिक सम्पति तोडफोडमा भाडाका मान्छे खटाउने जुन कार्य गरिरहेका छन्, उक्त काम अत्यन्तै खेदजनक छ ।'
ज्ञानेन्द्र शाहलाई यथाशीघ्र सरकारले कानुनी कारबाही गर्नुपर्नेमा उनले जोड दिए । 'पूर्व विशिष्टको नाममा राज्यबाट सुविधा लिई आफू प्रहरीको पहरा लिएर घरमा बस्ने अनि दुर्गा प्रसाईंजस्ता अराजक मानसिकता भएका मानिसलाई आन्दोलनको कमाण्डर बनाई राज्यका नागरिकको हत्या गर्न खटाउने ज्ञानेन्द्र शाहलाई यथाशीघ्र सरकारले कानुनी कारबाही गर्नुपर्दछ,' उनले भने, 'नेपाली जनताले तिरेको करबाट सेवा सुविधा लिने अनि तिनै नागरिकलाई हत्या गर्न उक्साउने ज्ञानेन्द्र शाहलाई तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गर्दछु ।'
