काठमाडौँ — कान्तिपुर लगायतका सञ्चारगृहमा राजावादीहरूले गरेको आक्रमण निन्दनीय रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । उनले सञ्चारगृह र सञ्चारकर्मीलाई आफ्नो काम निर्वाध गर्नका लागि सुरक्षा व्यवस्था गर्ने पनि प्रतिबद्धता गरेका छन् ।
लेखकले शनिबार कान्तिपुर टिभीको कार्यालयमा पुगेर उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । राजावादीहरूले शुक्रबार तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा कान्तिपुरलगायतका सञ्चारगृहमा ढुंगामुढा गरेको थियो । अन्नपूर्ण पोस्टको कार्यालयमा आगजनीको प्रयास भएको थियो ।
गृहमन्त्री लेखकले उक्त कार्य आपराधिक भएको बताए । 'यो देशको लिडिङ मिडिया हाउस कान्तिपुर हो । जसले लोकतन्त्रका लागि काम गरेको छ । हिजो जुन ढंगको आक्रमण भयो यो निन्दनीय र भर्त्सनायोग्य छ,' उनले भने, 'हिजो जुन घटना गरे त्यो कुनै राजनीतिक, दर्शन, सिद्धान्त, चेतना, मान्यता कसैसँग पनि मिल्दैन, कसैको अनुकूल छैन । यो नितान्त आपराधिक हो ।'
गृहमन्त्रीले प्रश्न गरे, 'कुन राजनीतिले भन्छ मान्छे भित्र हुँदाहुँदै बाहिरबाट आगो लगाउने ? मिडिया हाउसमा ढुंगा प्रहार गर्ने ?'
तीनकुनेमा पत्रकार सुरेश रजक घरभित्र रहेको बेला राजावादीले आगो लगाएको घटनाको पनि मन्त्री लेखकले निन्दा गरेका छन् । शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर अनुमति लिएर अराजकता मच्चाएको उनले बताए । 'स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि नागरिकको जिउधनको सुरक्षा गर्न बल प्रयोग गर्नुपर्यो, धेरै धैर्यता अपनाइयो,' उनले भने ।
राजावादीहरूले शुक्रबार अराजकता मच्चाएको पनि मन्त्री लेखकले बताए । 'संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न दिएको छ । आफ्ना कुरा रख्ने स्वतन्त्रता दिएको छ । सरकारले कहिले पनि शान्तिपूर्ण ढंगले गरेका कुनै पनि कार्यक्रममा व्यवधान, अवरोध छैन । यत्रो सामाजिक सञ्जाल, मिडिया हाउस छ । सबैले आफ्नो कुरा भनिराखेको अवस्था छ । सरकारको आलोचना खबरदारी छ र कहिले पनि सरकारको आग्रह, पूर्वाग्रह छैन,' उनले भने ।
घटनामा संलग्न सबैमाथि अनुसन्धान भइरहेको र दोषी देखिए कारबाही हुने गृहमन्त्री लेखकले बताए । आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंले प्रहरीलाई कुल्चिनका लागि गाडी चलाएको पनि गृहमन्त्रीको भनाइ थियो । उनी हाल फरार रहेको, खोजी कार्य भइरहेको र छिट्टै पक्राउ पर्ने गृहमन्त्रीले बताए । 'जसले यो प्रदर्शन आयोजना गरेको छ उसले जिम्मेवारी लिनुपर्छ । आपराधिक घटनाको बारेमा केही मान्छे पक्राउ परेका छन् । छानबिन हुन्छ । अनुसन्धान अगाडि बढेको छ । यसमा संलग्नमाथि अनुसन्धान हुन्छ र कारबाही हुन्छ । गम्भिरतापूर्वक छानबिन हुन्छ,' उनले भने ।
राजावादीले सञ्चारमाध्यममा आक्रमण गरेर आफ्नो मूल चरित्र देखाएको पनि गृहमन्त्रीले बताए । उनले भने, 'सुरक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं । निर्भयतापूर्वक काम गर्नुहोला । सुरक्षाको प्रत्याभूति सरकारले गर्छ । सञ्चारगृहमा कुनै पनि खालको त्रास हुने अवस्था रहन्न,' उनले भने । ज्ञानेन्द्र शाहले कू गर्दा पनि कान्तिपुरमाथि आक्रमण गरेको र हिजो उनको समर्थनमा भएको प्रदर्शनले पनि कान्तिपुरमाथि आक्रमण गरेको गृहमन्त्री लेखकले बताए । 'हिजो उहाँहरूले आफ्नो चरित्र देखाइहाल्नु भयो । यो देशमा लोकतन्त्र रहेन भने फेरि यस्तै आक्रमण हुन्छ । कहिले ढुंगाले आक्रमण हुन्छ, कहिले टिभी बन्द गरेर आक्रमण हुन्छ, कहिले कलम बन्द गरेर, रुप फरक हुन्,' उनले भने ।
लोकतन्त्रविरोधी गतिविधिको निशानामा कान्तिपुर र यस्तै सञ्चारजगत परेको बताउँदै उनले आगामी दिनमा त्यस्तो कार्य गर्नबाट रोकिने बताए ।
