तीनकुने घटनाको निष्पक्ष छानविन गराउन राप्रपाको माग

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

RP's demand for a fair investigation of the Three Kune incident

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार राजावादीहरूले गरेको आन्दोलनमा भएका घटनाहरूको निष्पक्ष छानबिनको माग गरेको छ । घटना छानबिनका लागि स्वतन्त्र न्यायीक आयोग बन्नुपर्ने राप्रपाको माग छ ।

पार्टी कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले हिंसा भड्किनुको कारण खोजी हुनुपर्ने बताएका छन् । ‘कसका कारणले हिंसा भड्किएको हो ? त्यो स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि नागरिक र मानवअधिकारवादीको निष्पक्ष आयोग पनि बन्नुपर्छ । सरकारले पनि न्यायीक आयोग गठन गरोस् ।’ 

राप्रपाले पार्टीका नेता रवीन्द्र मिश्र, धवलशमेशर राणाको रिहाईको मागसमेत गरेको छ । शान्तिपूर्ण प्रदर्शनमा सहभागी नेताहरूको बिनासर्त २४ घण्टाभित्र रिहाईको माग लिङ्देनले गरे । उनले नेताहरूको रिहाई नगरिए राप्रपा देशभर आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए ।

राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा भएको आन्दोलनलाई सरकारले बिथोल्न खोज्दा हिंसा भड्किएको निष्कर्ष पार्टीको रहेको समेत लिङ्देनले सुनाएका छन् । ‘सरकार आफै हिंसा भड्काउन र दमन गर्ने योजनाका साथ अगाडि आएको थियो,’ उनले भने, ‘सम्पूर्ण घटनाको जिम्मेवार सरकारको हो भन्ने हाम्रो निष्कर्ष छ ।’

आन्दोलनका कमाण्डर भनिएका दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई गाडीले पेल्दै गएको हो नि ? भन्ने पत्रकारको प्रश्नमा उनले आफूले पनि त्यो दृश्य देखेको बताए । त्यतिबेला पक्राउ गर्ने स्थितिलाई नियन्त्रणमा लिने, सुरक्षा व्यवस्था गर्ने जिम्मेवारी सरकारको रहेको जवाफ उनले दिए । ‘त्यस विषयमा पनि छानबिन गर्नुस्, दोषी देखिएकालाई कारबाही गर्नुस्,’ उनले भने ‘रवीन्द्र मिश्र वा धवलशमेशर पनि आगजनी वा तोडफोडमा छन् भने कारबाही गर्नुस् । तर, शान्तिपूर्ण प्रदर्शनमा रहेकालाई पक्राउ गर्नु त निन्दनीय नै हो ।’ 

उनले आन्दोलनलाई राप्रपाले समर्थन दिएको र पार्टीका कार्यकर्ताहरू सहभागी भए पनि उनीहरु कुनै पनि तोडफोड हिंसामा संलग्न नरहेको दाबी गरे । तपाईंका नेताले उक्साएको देखिएको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘आन्दोलन भजनकीर्तन गाउँदै त हुन्न । कार्यकर्तालाई उत्साहित बनाउन अगाडि बढौं त भनिहालिन्छ ।’

उनले रवीन्द्र मिश्र वा धवलशमेशरले कहीं कतै पनि तोडफोडमा लाग्न नभनेको भन्दै आन्दोलनमा कार्यकर्तालाई उत्साहित पार्ने सामान्य भूमिका खेलेको बताए । ‘उहाँहरू कतै पनि तोडफोड गर्न जानु भएको छैन । आन्दोलनमा निषेधित क्षेत्र तोड्ने कुरा हुन्छ नै । कसैको घरमा आगो लगाउँ भने भनेको छैन नि,’ उनले भने, ‘सबै कुराको निष्पक्ष छानबिन होस् ।’

उनले पहिल्यै छतमा पुगेका सुरक्षाकर्मीले अश्रृग्यास हान्ने, गोली चलाउने कार्य गरेकोबाटै परस्थिति बिग्रिएको भन्दै सरकार नै आन्दोलनलाई भड्काउन लागेको देखिएको आरोपसमेत लगाए ।

कान्तिपुर

Link copied successfully