‘प्रदर्शन होइन, सुरुदेखि नै उत्पात गर्ने योजनामा देखिन्थे राजावादी’

कान्तिपुर टीभीको अगाडि जत्था आयो र ढुंगा बर्साउन थाल्यो, समाचार कक्षमा काम गरिरहेका पत्रकार साथीहरूको टेबलमै ढुंगा आयो, समाचार कक्षमा त्रास मच्चियो

चैत्र १६, २०८१

रुपेश श्रेष्ठ

”It was not a demonstration, the royalists seemed to be planning to attack from the beginning”

काठमाडौँ — शुक्रबारको राजावादीको प्रदर्शनले सवारीसाधन नचल्ने पूर्वअनुमान गरेर बिहान ९ बजे नै तीनकुनेस्थित कान्तिपुर टेलिभिजनमा पुगेको थिएँ । अफिस आउँदा बाटामा प्रहरी र सुरक्षाकर्मी चोक–चोकमा बस्ने अनि सुरक्षा दिने गरेको देखिएको थियो । सार्वजनिक यातायात कम चलेका थिए । बिहानको अवस्था सामान्य नै थियो । बिस्तारै तीनकुने क्षेत्रमा अलि–अलि मान्छे भेला हुँदै गए ।

कान्तिपुर टेलिभिजनका लागि हामीले साढे १० बजे दुई ठाउँ (तीनकुने र माइतीघर चोक) बाट लाइभ गर्ने योजना बनाएका थियौं । हाम्रा सहकर्मीले माइतीघर चोक र भृकुटीमण्डपमा मानिसहरू फाट्टफुट्ट भेला हुँदै गरेको जनाएका थिए । साढे १० बजेतिर माइतीघरतर्फ ठाउँ–ठाउँबाट स–सानो र्‍याली भेला हुँदै छ भन्ने जानकारी आयो । माइतीघरमा त्यति धेरै भीडभाड छैन भन्ने थियो । साढे १० बजेसम्म तीनकुनेमा भने मानिसहरू करिब–करिब थिएनन् भन्दा पनि हुन्छ । ५०/१०० जना फाट्टफुट्ट ठूलो चौरमा भेला हुँदै गरेजस्तो देखिने तर यहाँ सभा हुन्छ भन्ने खालको उपस्थिति थिएन । बिस्तारै १२ बजेपछि मानिसको हिँडडुल बढ्न थाल्यो । झन्डा बोकेका मानिस बढ्दै गरेको हामीले आभास गर्‍यौं ।

कान्तिपुर टेलिभिजनकै अगाडि साढे १२ बजेपछि नाराबाजी सुरु भयो । तीनकुने र कोटेश्वरबाट जुलुस आएको थियो । चाबहिलतिरबाट मोटरसाइकल र्‍याली आएको थियो । उनीहरू बानेश्वरतिर फर्केर नाराबाजी गरेको देखिन्थ्यो । सुरक्षाकर्मी बार लगाएर बसेका थिए । साढे १२ आसपासमा त्यो चली नै रहेको थियो । सवा एक बजे आसपासमा एउटा सेतो गाडी आयो । झ्यालबाट टाउको निकालेका दुई जना मान्छे गाडीमा देखिए । अरू गाडी गुडिरहेका थिएनन् । 

एउटा गाडी हुलमूल भएको ठाउँ अर्थात् तीनकुनेबाट हुइँकिएर सुरक्षाकर्मीको बार बसेको ठाउँमा एकैछिन रोकियो । एकछिन वादविवाद गरेर पेल्दै–पेल्दै गयो । गइसकेपछि थाहा भयो कि त्यो गाडी दुर्गा प्रसाईंको रहेछ । त्यसपछि धकेलाधकेल सुरु भयो । त्यसभन्दा अगाडि सभा र सम्बोधन केही भएको थिएन । मात्र मान्छेको भीडभाड भइरहेको थियो । ‘दुर्गा प्रसाईं आउँदै छन्’ भन्ने सुनियो । प्रसाईं आइसकेपछि सभा सुरु हुने भन्ने अनुमान थियो । तर प्रसाईं सभा स्थलतर्फ गएनन्, सुरक्षाकर्मीलाई पेल्दै–पेल्दै अगाडि गए । उनी पास भएर कहाँ गएँ ? हराए ।

नाराबाजी गरिरहेकाहरू बानेश्वरतिर अगाडि बढ्न खोजे । सुरक्षाकर्मीले पेल्न थाल्दा १/२ जनाले ढुंगा हान्न थाले । प्रहरीले लखेट्न थाल्यो, झन् बढी ढुंगा बर्सन थाल्यो । लगत्तै प्रहरीले अश्रुग्यास हान्न थाल्यो । तीनकुनेको एउटा बिल्डिङमा आगो नै सल्कियो, अश्रुग्यास हान्न थालेको आधा घण्टापछि हो । प्रदर्शनकारीले जताततै टायर बालेका थिए । ट्राफिक आइल्यान्ड ढालेर त्यहाँ टायर बालेका थिए । तीनकुनेको अर्कोपट्टि गौशाला जानेतिर पनि आगो बालेका थिए ।

सबैतिर ढुंगामुढापछि प्रदर्शनकारी कान्तिपुर टेलिभिजनतर्फ लागे । कान्तिपुर टेलिभिजनको कार्यालय मुख्य सडकबाट थोरै भित्र छ । भाग्ने क्रममा प्रदर्शनकारीहरू गल्लीतर्फ छिरे । दुईवटा ठूला बाटा र त्यहाँबाट फेरि स–साना गल्ली छन् । दायाँ–बायाँ भाग्न मिल्ने अरू गल्ली छन् । जब–जब पुलिसले बल प्रयोग गर्छ अनि गल्लीमा पसे । कान्तिपुरको अगाडि एउटा जत्था आयो र ढुंगा वर्षाउन थाले । समाचार कक्षमा काम गरिरहेका पत्रकार साथीहरूको टेबलमै ढुंगा आयो । समाचार कक्षमा त्रास मच्चियो । सबै साथीहरू ढुंगा नआउने स्थानतर्फ लुकेर बसे । पछि समाचारमा आएअनुसार अन्नपूर्ण दैनिकमा पनि तोडफोड गरेछन्, आगो नै लगाएछन् । कान्तिपुर र अन्नपूर्णमा एकै समयमा आक्रमण भएको रहेछ ।

केही बेरमा मात्रै प्रहरीको बाक्लो उपस्थिति रह्यो । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्‍यो । कोटेश्वरसम्म लखेट्यो । तर प्रदर्शनकारी भित्रभित्रै जाँदा उनीहरूले नयाँ–नयाँ भवनमा आक्रमण गर्ने र गाडी जलाउने काम गरे । पार्टी कार्यालयदेखि भाटभटेनी सुपरमार्केटसम्म आक्रमण गरे । लुटपाट गरे ।

म समाचार कक्षमा बसेर फिल्डमा रहेका साथीहरूसँग कुराकानी गरिरहेको थिएँ, आफैं पनि लाइभ गर्न सडकमा निस्किएको थिएँ । शुक्रबारको दिनभरको घटनाक्रम नियाल्दा राजावादीहरूको सभा गर्ने कुनै योजना नै थिएन । किनभने, यो सभामा कसले के बोल्ने भन्ने कुनै तयारी नै थियो जस्तो मलाई लाग्दैन । नवराज सुवेदीको संयोजकत्वमा एउटा समिति बनेको छ । त्यो समितिले शुक्रबारको सभाका लागि दुर्गा प्रसाईंलाई बिहीबार मात्रै नेतृत्व हस्तान्तरण गरेको थियो । शुक्रबार अर्थात् चैत १५ को सभा दुर्गा प्रसाईंले आफैंले घोषणा गरे थिए । नवराज सुवेदीले घोषणा गर्नुभन्दा पहिला नै उनले गरेका हुन् । 

दुर्गा प्रसाईंले जुन हर्कत देखाए, उनी सभाका लागि आएका होइनन् भन्ने देखिन्छ । 

यहाँ जो प्रदर्शनकारी सडमा देखिए ती प्रदर्शनकारी सभामा सुन्नका लागि तयार भएको देखिँदैन्थ्यो । सभा स्थलमा एकदमै थोरै मान्छे थिए । सबै सडकमा अराजक ढंगले प्रस्तुत भइरहेका थिए । उनीहरू सुरक्षाकर्मीलाई उक्साउने, उद्वेलित गर्ने व्यवहारमा देखें । नभन्दै घटनाले उग्ररूप लियो । एक जना पत्रकारले ज्यान गुमाए, अर्को एक मजदुरले पनि ज्यान गुमाए । धेरै धनजनको क्षति भयो । यो दुःखद् भयो ।

रुपेश श्रेष्ठ कान्तिपुर टेलिभिजनका समाचार प्रमुख हुन् ।

Link copied successfully