काठमाडौँ — एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुरक्षाकर्मीले गृहमन्त्री रमेश लेखकको आदेश मान्न छोडेको हो कि भन्ने आशंका उत्पन्न भएको बताएका छन् ।
राजावादीले तोडफोड र आगजनी गरेको पार्टी केन्द्रीय कार्यालयको निरीक्षणमा पुगेका गृहमन्त्री रमेश लेखकलाई नेपालले उक्त आशंका व्यक्त गरेका हुन् ।
आन्दोलनकारीहरूले तोडफोड गरी पुर्याएको क्षतिको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकलाई अध्यक्ष नेपालले उक्त धारणा राखेका हुन् । नेपालले गृहमन्त्रीलाई भने, ‘आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरू आएको भए केही रहँदैन थियो । तपाईंको आदेश नमानेको हो कि हामीलाई शंका त त्यो लागिरहेको छ ।’
शुक्रबार राजावादीहरूले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पतीमा तोडफोड गरी क्षति पुर्याएका थिए । सोही क्रममा एकीकृत समाजवादीका पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए । पार्टी कार्यालयमा आन्दोलनकारीले आगो लगाएको बारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याँई गरेको पार्टीका नेताले बताए ।
राजावादीहरूले तीनकुनेमा निजी सम्पतीमा आगजनी गर्नुका साथै बाटोमा गुडिरहेका सवारी साधन, भाटभटेनी, पार्टी कार्यालय र जडिबुटीस्थित जडिबुटी प्रशोधन केन्द्र लगायतका सम्पतीमा आगजनी गरेका थिए ।
