राजसंस्था पक्षधरको आक्रमण र निजी भवनमा आगजनी गर्ने क्रममा पत्रकारको मृत्यु भएको घटना निन्दनीय : कान्तिपुर मिडिया ग्रुप
काठमाडौँ — राजावादीको शुक्रबारको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकारको मृत्यु र सञ्चारसंस्थामाथि आक्रमणको घटनाको सञ्चारसम्बद्ध विभिन्न संघसंस्थाले भर्त्सना गरेका छन् ।
राजावादीको प्रदर्शनका क्रममा तीनकुनेस्थित भवनमा आगजनी हुँदा एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको मृत्यु भएको छ । प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन तथा अन्नपूर्ण मिडियाको कार्यालयमा आक्रमण गरेका थिए । यस्तै हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड भएको छ ।
नेपाल पत्रकार महासंघले सञ्चारगृहमा आक्रमण, सवारीसाधन तोडफोड र सञ्चारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘सञ्चारसंस्था र सञ्चारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य कार्य भएको महासंघको ठहर छ,’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार्य हुँदैन ।’ यस्तो कार्यमा संलग्नलाई तत्काल कारबाही गर्न महासंघले माग गरेको छ ।
सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन पनि महासंघले आग्रह गरेको छ । लोकतन्त्र र प्रेसविरोधी क्रियाकलाप नदोहोर्याउन सम्बन्धित पक्षको महासंघले ध्यानाकर्षण गराएको छ ।
कान्तिपुर मिडिया ग्रुपले घटनाको निन्दा गरेको छ । ‘शुक्रबार विरोध प्रदर्शनका नाममा राजसंस्था पक्षधर राजनीतिक दल र समूहहरूले काठमाडौंमा विध्वंस मच्चाए । निजी व्यापारिक भवनमा तोडफोड र आगजनी गरेका राजावादीले मिडिया संस्थामाथि पनि छानीछानी आक्रमण गरे,’ कान्तिपुर मिडिया ग्रुपले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा समेत ढुंगामुढा गर्दै आतंक सिर्जना गरे । स्वतन्त्र प्रेसमाथिको यो आक्रमण निन्दनीय छ । हामी यसको गम्भीर भर्त्सना गर्दछौं ।’
आगजनी, लुटपाट, तोडफोडसँगै मिडियाकर्मीको ज्यानै जाने गरी आक्रमण गर्ने घृणित कार्य कदापि स्वीकार्य नहुने पनि वक्तव्यमा जनाइएको छ । कान्तिपुरले यस कार्यमा संलग्नमाथि तत्काल कानुनी कारबाहीका लागि सरकारसमक्ष माग गरेको छ ।
उक्त जत्थाले अन्नपूर्णसहित मिडियामा तोडफोड र आगजनी गरेको भन्दै अन्नपूर्ण मिडिया नेटवर्कले पनि भर्त्सना गरेको छ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापालगायत सम्पादकहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । ‘निरंकुशताको पहिलो निसाना प्रेस हो भन्ने यो आन्दोलले अँगालेको शैलीले देखाएको छ । हामी सबै किसिमका निरंकुशताको कडा विरोध गर्दै लोकतन्त्रका पक्षमा सदा अविचलित रहने प्रतिबद्धता जनाउँछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
