कहाँ चुक्यो प्रहरी  ?

नयाँ बसपार्कस्थित ल्होत्से मलमा साँझ भएको लुटपाटको घटना सम्झाउने दिन

चैत्र १५, २०८१

जनकराज सापकोटा

Where did the police go?

काठमाडौँ — तीनकुने सभास्थलबाट तितरबितर भएका राजावादी प्रदर्शनकारीले मच्चाएको अराजकता र हिंसाका दृश्य यतिबेला सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका छन् । प्रदर्शनकारीले आगजनी गरेको एक भवनमा पुगेर भिडियो खिचिरहेका पत्रकारको समेत जलेर ज्यान गयो ।

ठाउँठाउँमा आगजनी र तोडफोड गर्दै हुलदंगा मच्चाउँदै हिँडेका प्रदर्शनकारीको अराजकता नियन्त्रण गर्न प्रहरी र सुरक्षाकर्मीको चुकले स्थिति नियन्त्रणबाहिर पुग्यो । जबकि भाटभटेनीबाट कोटेश्ववरस्थित प्रहरी वृत्त केही सय मिटरकै दूरीमा मात्रै छ ।

अनौठो त यो छ कि, तीनकुनेबाट प्रहरीले तितरबितर गरेका प्रर्दशनकारी ससानो झुन्डमा बाँडिएर कोही बागमती करिडोर हुँदै आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगो झोस्न पुगे । लगत्तै अर्को समूह भाटभटेनी सुपरमार्केट पुग्यो र ढुंगामुढा र लुटपाटमा लाग्यो ।

सुरुमा भाटभटेनीको संरचनामा आक्रमण र सरसामान फ्याँक्ने काम भए पनि बिस्तारै भीड भाटभटेनीभित्रै छिरेर सामान लुट्नतिर लागेको देखिन्छ । भाटभटेनीका सञ्चालक कल्याण गुरुङले क्षतिको आँकलन भइरहेको बताए । घटनाबारे आन्तरिक अनुसन्धान भइरहेको उनको भनाइ छ ।

०००

गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिवलाई सञ्चारकर्मीहरुले सूचनामा कमजोरी भएको हो कि कमान्ड कन्ट्रोलमै कमजोरी भनेर सोधेका थिए । गृहका सहसचिव छवि रिजालले स्थिति यो हदसम्म जान्छ भन्ने अनुमान आफूहरुले नगरेको बताएका थिए । गृह मन्त्रालयले हिंसात्मक गतिविधि र लुटपाटमा संग्लनमाथि कारबाही गर्ने जनाए पनि यो घटनामा सुरक्षा कमान्ड किन फितलो भयो भन्ने प्रश्न उठेको छ ।

Where did the police go?

कोटेश्वरस्थित भाटभटेनीमा कार्यरत एक कर्मचारीले ढुंगामुढा र आक्रमण भएको ४० मिनेटपछि मात्रै सुरक्षाकर्मी आइपुगेको बताए । ती कर्मचारीले भने, 'भुइँतलामा रहेको स्टोरबाट घडी, मोबाइल, मदिरा लगायतका महँगा सामान लुटपाट गर्न ६० देखि ७० जना छिरे । धेरैबेरसम्म प्रहरी नआएपछि बाहिर रहेको फुड स्टलबाट तरकारी र फलफूल लाने र त्यसैले आक्रमण गर्ने काम भयो ।'

आक्रमण र लुटपाटको सबै विवरण सामाजिक सञ्जाल फेसबुक, टिकटकबाट लाइभ भइरहँदा प्रहरीले सूचना नपाउने भन्ने अवस्था पनि थिएन । तर समयमै प्रहरी पुग्न नसकेकाले निर्बाध लुटपाट र तोडफोड चलिरह्यो । ती कर्मचारीले सुनाए, 'प्रहरी नआएपछि त सडकमा हिँड्नेहरु पनि आएर सामान लुट्न थाले । हामीले केही गर्न सकेनौं ।'

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा स्टोरभित्रै छिरेर सामान लुटपाट गरेर फर्केकालाई सुरक्षाा गार्डहरूले रोक्न नसकेको र सुरक्षा अभावको फाइदा उठाउँदै एकपछि अर्को हुल छिरिरहेको देखिन्थ्यो ।

राजावादी प्रदर्शनकारीकै एक हुल भने तीनकुनेको एक घरमा आगजनी गरेपछि बागमती खोला किनार आलोकनगरमा रहेको एकीकृत समाजवादीको पार्टी कार्यालय सोझियो । घटनास्थलमा रहेका कान्तिपुर संवाददाताका अनुसार सुरुमा १५/२० जनाको हुलले कार्यलयभित्र रहेका कुर्सी र कागजपत्र बाहिर ल्याएर जलाए । त्यसलगत्तै पुगेका प्रहरीले तिनीहरुलाई एकैछिन तितरबितर पारेर फर्किए । प्रहरी फर्केको केहीबेरमै प्रदर्शनकारीले कार्यलयभित्रै आगो झोसे । एकैछिनमा दनदनी आगो सल्किहाल्यो । नजिकै रहेका प्रहरीले केही गर्न सकेनन् ।

०००

आजको आगजनी र लुटपाटको घटनामा देखिने एउटै समानता भनेको प्रदर्शनकारीले छानीछानी घर र स‌ंरचनामा आक्रमण गर्नु हो । प्रदर्शनकारी कता जाँदै छन् र के गर्न खोजिरहेका छन् भन्ने अधिकांश दृश्य सामाजिक सञ्जालबाट लाइभ भइरहेको थियो । कतिसम्म भने सामाजिक सञ्जालबाटै निर्देशन दिने र उत्तेजक अभिव्यक्ति दिँदै भड्काउने काम पनि सँगसँगै भइरहेको थियो । तर यतिका धेरै सूचना हुँदा पनि प्रहरीले भीड र स्थिति नियन्त्रणमा लिन चुक्यो । 

Where did the police go?

काठमाडौं उपत्यका प्रहरी कार्यलयका अनुसार आज काठमाडौंमा समाजवादी मोर्चा र राजावादीका दुई ठूला कार्यक्रम थिए । त्यसलाई सुरक्षा दिन र शान्ति कायम गर्न सुरुमा ३५ सय प्रहरी खटाउने कुरा थियो । पछि थप गरेर ४ हजार हाराहारी पुर्‍याइयो । आजको दुवै कार्यक्रमका लागि २ हजार सशस्त्र प्रहरी खटिएका थिए ।सशस्त्र स्रोतका अनुसार तीमध्ये झन्डै ७ सय सशस्त्र तीनकुने आसपास खटिएका थिए ।

तीनकुने क्षेत्रमै आन्दोलन सीमित गर्ने र भीडलाई संसद् भवनतिर आउन नदिन भनेर झन्डै डेढ सय प्रहरी खटाइएको थियो । प्रहरी स्रोतका अनुसार मोर्चामा आबद्ध माओवादी, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टीको कार्यक्रम राजावादीले बिथोल्न सक्ने अनुमान गरेर धेरै सुरक्षाकर्मी खटाइएको थियो । जबकि स्थिति भने तीनकुने क्षेत्रमा नियन्त्रणबाहिर भने भयो । स्थितिको आँकलन गर्न प्रहरी यहीँनेर चुक्यो ।

कान्तिपुरसँगको अनौपचारिक कुराकानीमा प्रहरीका केही अधिकारीले भीड यति उत्तेजक हुन्छ भन्ने आँकलन नै नगरेको सुनाए । शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने भनेर राजावादीले भने पनि उनीहरु हिंसा भड्काउने तरिकाले प्रस्तुत भएको उनीहरुको भनाइ छ । एक प्रहरी अधिकारीले भने, 'दुर्गा प्रसाईंले जब भीडमाथि गाडी गुडाउने प्रयास गर्दै भीडलाई उत्तेजित पार्न खोजे, त्यसपछि स्थिति बिग्रियो ।'

एकैचोटि तीनकुने क्षेत्रका कार्यालयमा आक्रमण सुरु भएकाले प्रहरी सबैतिर ससानो समूहमा बाँडिनुपर्ने अवस्था आएको ती अधिकारीले बताए । राजावादीहरुले तीनकुने क्षेत्रमा रहेका कान्तिपुर टीभीको कार्यालय, एक बिजनेस कम्प्लेक्ससहित व्यक्ति बसेका आधा दर्जनजति घर, नजिकै रहेको अन्नपूर्ण पोस्टको कार्यालय, एकीकृत समाजवादीको कार्यालयतिर आगजनी सुरु गरेका थिए । ती प्रहरी अधिकारी भन्छन्, 'त्यही बेला प्रहरीले चेन अफ कमान्ड लुज गर्‍यो  ।'

पूर्वडीआईजी केशव अधिकारी आजको घटनाले ५ फागुन २०७९ मा नयाँ बसपार्कस्थित ल्होत्से मलमा साँझ भएको लुटपाटको घटना र २०८० पुस १३ मा बालकुमारीमा भएको घटनालाई सम्झाइदिएको बताउँछन् । उनले भने, 'प्रहरीका फिल्ड कमान्डरहरुले विगतका घटनाबाट पाठ नसिकेको देखियो ।' उनले छिनछिनमा विकास भइरहेका सूचनामा फिल्ड कमान्डरको पहुँच स्थापित हुन नसकेको बताए । उनले भने , 'प्रर्दशनकारीको रणनीति बुझ्न पनि प्रहरीले नसकेजस्तो देखिन्थ्यो ।'

पूर्वडीआईजी हेमन्त मल्लले दुर्गा प्रसाईंले विगतमा दिएका हिंसात्मक अभिव्यक्ति र उनको उत्तेजक शैलीलाई प्रहरीले नजरअन्दाज गरेको बताए । उनले एकै दिन दुई ठाउँमा भएका आमसभामा सहरका धेरै चोकबाट छरिएर आन्दोलनकारी प्रवेश गरेको र सोहीअनुसार प्रहरी धेरैतिर छरिँदा पनि तीनकुनेमा धेरै घटना भएको विश्लेषण सुनाए । उनले भने, 'प्रहरीले सुरक्षा रणनीति बनाउँदा र छिनछिनमा बदलिरहने घटनाअनुसार मुभ हुन नसकेजस्तो देखियो ।'

जनकराज सापकोटा सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully