आपराधिक क्रियाकलापमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन एमालेको माग

राजावादी प्रदर्शनको भर्त्सना, उचित शान्ति सुरक्षाको व्यवस्था मिलाउन माग

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

UML demands that those involved in criminal activities be immediately brought to justice

काठमाडौँ — सरकारको नेतृत्व गरेको एमालेले शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनको भर्त्सना गरेको छ । साँझ विज्ञप्ति जारी गर्दै एमालेले आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न माग पनि गरेको छ । 

‘एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गर्दछ । सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आहृवान गर्दछ,’ एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एमालेले अराजक र हिंसात्मक घटनाको घोर निन्दा गर्दै उचित शान्ति सुरक्षाको व्यवस्था मिलाउन माग गरेको छ ।

‘पूर्व राजावादीहरुको अराजक समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उद्दण्डता, अराजकता र हिंसाको नेकपा (एमाले) घोर भर्त्सना गर्दछ,’ एमालेले भनेको छ, ‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानीजानी हिंसा र आतंकलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन् ।’

कान्तिपुर

Link copied successfully