बुटवल — जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सामूहिक जागरुकता र युवाको सक्रियता आवश्यक रहेको सरोकारवालाले औंल्याएका छन् । जलवायु परिवर्तनको असर प्रशस्तै देखिइरहे पनि न्यूनीकरणका लागि नीति, बजेट र कार्यक्रम पर्याप्त नरहनेको उनीहरूले बताएका हुन् ।
कान्तिपुर मिडिया ग्रुपको अंग्रेजी प्रकाशन ‘द काठमाडौं पोस्ट’ले बिहीबार भैरहवामा आयोजना गरेको ‘क्लाइमेट डायलग’ मा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका जयवायु परिवर्तन कार्यक्रमका फोकल पर्सन यज्ञमूर्ति खनालले प्रदेश सरकार र स्थानीय तहमा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कानुन नरहेकाले संघीय सरकारकै नीति र कार्यविधिमा रहेर काम गर्नुपरिरहेको बताए ।
जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि समुदायको जागरुकता र युवाको सक्रियता महत्त्वपूर्ण रहेको खनालले बताए । मन्त्रालयमा जलवायु परिवर्तनका क्षेत्रमा बजेट र जनशक्तिको सधैं अभाव हुने गरेको पनि उनले जानकारी दिए । संघमा प्रधानमन्त्रीको अध्यक्षतामा र प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा जलवायु परिवर्तनसम्बन्धी परिषद् गठन हुने नीतिगत व्यवस्था भए पनि लुम्बिनीमा पछिल्लो ५ वर्षमा परिषद्को बैठक एक पटक मात्र बसेको उनले बताए ।
डिभिजन वन कार्यालय पाल्पाकी वन अधिकृत मुना शर्माले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वन, कृषि, पर्यटन र जलवायु परिवर्तनका विषय समेटिएको एउटै नीति बनाउन सके प्रभावकारी हुने बताइन् । लुम्बिनी प्रदेशमा अधिकांश वन क्षेत्र समुदायमा आधारित रहेको र वन व्यवस्थापन पनि त्यही आधारमा भइरहेकाले कार्बन सञ्चितीकरण र जलवायु परिवर्तन अनुकूलनमा कृषि, वन तथा निजी वन कार्यक्रम एकसाथ अघि बढाउनुपर्ने उनको भनाइ छ ।
वन क्षेत्र आसपासका बस्तीमा जनसंख्या कम हुनु, भएकामा पनि युवा नहुनुले पनि जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न नसकिएको शर्माले बताइन् । वन्यजन्तु चोरीसिकारविरुद्धका अभियानकर्ता बर्दियाका युवा हेमन्त आचार्यले जलवायु परिवर्तनको असरले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको बताए । उनले नदीनाला सुक्दै गएपछि वन्यजन्तु बस्तीमा जान थालेको र त्यसले मानवसँग द्वन्द्व बढाइरहेको उनको भनाइ थियो । बर्दिया प्रकृति पर्यटनका लागि उत्कृष्ट गन्तव्य भए पनि पछिल्ला वर्षमा पर्यावरणीय पर्यटक घट्दै गएको उनले बताए ।
वातावरणीय प्रभावका अध्येता युवराज कँडेलले कृषि र वन क्षेत्रको समन्वय अभावले जलवायु परिवर्तनका असर बढिरहेको बताए । जलवायु संवाद कार्यक्रममा द काठमान्डु पोस्टका सम्पादक विश्वास बरालले नीतिगत र कानुनी समस्या, सरोकारवालाको भूमिका र त्यसमा समुदाय एवं युवाको भूमिका र दायित्वका विषयमा छलफल चलाएका थिए । छलफलमा स्थानीय युवा, वातावरण अभियन्ता र वातावरण विषय अध्ययन गरिरहेका विद्यार्थीसमेत सहभागी थिए ।
