काठमाडौँ — घरभित्रै आगोमा पारी एभिन्युज टीभीका क्यामेरा पर्सन सुरेश रजकको निधन भएको घटनाको छानबिन गरी संलग्नलाई कानुनी कारबाही गर्न अन्नपूर्ण मिडिया नेटवर्कले माग गरेको छ । शुक्रबार नेटवर्कसहित ७ संस्थाले वक्तव्य जारी गर्दै उक्त घटनाप्रति विरोध जनाएका हुन् ।
‘राजावादी आन्दोलनका नाममा निस्किएको अराजक, उच्छृंखल र असंयमित जत्थाले अन्नपूर्ण मिडिया नेटवर्क र कान्तिपुर टेलिभिजनका मुख्यालयमा तोडफोड एवं आगजनी गर्नुका साथै निजी भवनमा लगाएको आगोमा परी एभिन्युज टीभीका क्यामेरा पर्सन रजकको निधन भएको जघन्य घटनाको हामी गम्भीर भर्त्सना गर्दछौं,’ वक्तव्यमा भनिएको छ, ‘निरंकुशताको पहिलो निसानी प्रेस हो भन्ने यो ‘आन्दोलन’ले आगालेको शैलीले देखाएको छ । हामी सबै किसिमका निरंकुशताको कडा विरोध गर्दै लोकतन्त्रका पक्षमा सदा अविचलित रहने प्रतिबद्धता जनाउाछौं ।’
पत्रकार र मिडिया कर्मचारी भित्र रहेको अवस्थामा ज्यानै लिने कुत्सित मनशायले अन्नपूर्ण मिडिया नेटवर्कमा आगजनी तथा आक्रमण गरिएको घटनाप्रति अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, अन्नपूर्ण एक्सप्रेस दैनिकका सम्पादक कमलदेव भट्टराई, अन्नपूर्ण पोस्ट् डट कमका सम्पादक शम्भु कट्टेल, रेडियो अन्नपूर्ण ९४.० मेगाहर्जका सम्पादक भूपाल लुइाटेल र एपी वान टीभीका समाचार प्रमुख दीपेन्द्र वान्तवाले वक्तव्य जारी गर्दै विरोध जनाएका हुन् ।
गणतन्त्रको रेखा कोर्ने २०६२/०६३ को आन्दोलनमा मिडियाको सक्रिय, सशक्त र अहम् भूमिका रहेको भन्द्र अन्नपूर्ण मिडिया नेटवर्क लोकतन्त्रको मुना निमोठ्ने कुनै पनि गतिविधिको मूकदर्शक हुन नसक्ने जनाएको छ ।
‘लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र हो । गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र हो । किनकि, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार एवं नागरिक सम्प्रभुत्ता केवल लोकतन्त्रमा सम्भव छ । त्यसमा हुने अवरोध खेदजन्य छ,’ वक्तव्यमा भनिएको छ ।
