'सन्चो' बनाउने जडीबुटी उत्पादन कम्पनीमा राजावादीले गरे आगजनी

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Rajawadi set fire to the herb production company that made 'Sancho'

काठमाडौँ — राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी गरेका छन् । नेपालीहरूमाझ लोकप्रिय रहेको 'सन्चो'सहितका औषधि बनाउने कम्पनीको कार्यालयमा उनीहरूले आगजनी गरेका हुन् । कार्यालय परिसरमा रहेका गाडीहरूमा समेत उनीहरूले आगजनी गरेका छन् । 

कम्पनीकी महाप्रबन्धक उषा रिजालले कार्यालय भवन र गाडीमा आगजनी भएको बताइन् । समयमै दमकल नआए गोदाम र मुख्य भवनमा पनि आगो सल्किने उनले बताइन् । 

तीनकुने क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेपछि राजावादी प्रदर्शनकारी जडीबुटी कम्पनीमा आगजनी गर्न पुगेका हुन् । आजै तीनकुने क्षेत्रमा समेत प्रदर्शनकारीहरूले घरमा आगजनी गरेका थिए । त्यस्तै कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा समेत उनीहरूले लुटपाट मच्चाएका थिए । 

काठमाडौंको तीनकुनेमा प्रहरीमाथि ढुंगामुढा र निजी घरहरूमाथि तोडफोड र आक्रमणपछि शुक्रबारका लागि तय भएको राजावादीको सभा बिथोलिएको छ । विभिन्न ठाउँबाट र्‍यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।

Rajawadi set fire to the herb production company that made 'Sancho'

प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । गठनसँगै उक्त समिति विवादमा तानिएको थियो । राप्रपाका अध्यक्ष लिङ्देनले आफू उक्त समितिमा नरहेको जनाएका थिए । राप्रपाको कार्यसम्पादन समितिको बैठकले राप्रपा आफैंले आन्दोलन गर्ने कुनै व्यक्ति विशेषको नेतृत्वमा पार्टीलाई नलैजाने निर्णय लिएको थियो ।

तीनकुनेको सभा बिथोलिएपछि निस्किएका दुर्गा प्रसाईंले निजी सम्पत्तिमा आक्रमण नगर्न अपिल गरेका छन् । उनले भनेका छन्, 'प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षति पुग्यो, कैयन् साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ । यसप्रति दु:ख व्यक्त गर्दै घाईते साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिलसमेत गर्दछु ।'

कान्तिपुर

Link copied successfully