काठमाडौँ — राजसंस्था पक्षधरले शुक्रबार दलका कार्यालयमा आक्रमण र निजी भवनमा आगजनी गर्ने क्रममा एक जना पत्रकारको मृत्यु भएको घटनाप्रति कान्तिपुर मिडिया ग्रुपले गम्भीर निन्दा र भर्त्सना गरेको छ ।
‘शुक्रबार विरोध प्रदर्शनका नाममा राजसंस्था पक्षधर राजनीतिक दल र समूहहरूले काठमाडौंमा विध्वंश मच्चाए । निजी व्यापारिक भवनमा तोडफोड र आगजनी गरेका प्रदर्शनकारीहरूले मिडिया संस्थामाथि पनि छानीछानी आक्रमण गरे,’ कान्तिपुर मिडिया ग्रुपले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘यस क्रममा उनीहरूले तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा समेत आक्रमण गरे । पत्रकार र कर्मचारीले काम गरिरहेकै समयमा अराजक समूहले ढुंगामुढा गर्दै आतंक सिर्जना गरे । स्वतन्त्र प्रेसमाथि राजतन्त्र समर्थक दल र समूहको उक्साहटमा प्रदर्शनमा उत्रिएकाहरूको यो आक्रमण निन्दनीय छ । कान्तिपुर टेलिभिजन र कान्तिपुर मिडिया ग्रुप यसको गम्भीर भर्त्सना गर्दछ ।’
वक्तव्यमा नेपालको संविधानले भेला हुने, सभा गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने छुट सबै नागरिकलाई दिएको उल्लेख गर्दै राजसंस्था पक्षधरहरूलाई पनि यो अधिकार रहेको उल्लेख छ । ‘उनीहरूलाई वर्तमान राजनीतिक प्रणाली र नेतृत्वको आलोचना गर्ने छुट पनि छ । तर आगजनी लुटपाट र तोडफोड गरेर गैरकानुनी गतिविधि गर्ने छुट उनीहरूलाई छैन,’ वक्तव्यमा उल्लेख छ ।
राजनीतिक दल वा समूहको आवरणमा विरोध प्रदर्शनको नाममा अराजक गतिविधि गर्ने, विध्वंश मच्चाउने, निजी र सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउने र आतंक मच्चाउने कार्य त सर्वथा गलत छ नै, मिडियाकर्मीको ज्यानैसमेत जोखिममा पर्ने गरी आक्रमण गर्ने घृणित कार्य कदापि स्वीकार्य नहुने पनि वक्तव्यमा जनाइएको छ ।
‘कान्तिपुर मिडिया ग्रुप यस्ता घटनाबाट कत्ति पनि विचलित नभइ यस कार्यमा संलग्नमाथि तत्काल कानुनी कारबाहीका लागि सरकारसमक्ष माग गर्दछ,’ वक्तव्यको अन्त्यमा भनिएको छ, ‘आन्दोलन आह्वान गर्ने समूहले यस घटनाको जिम्मेवारी लिनुपर्छ र कानुनी कारबाहीको भागिदार हुनुपर्छ । अन्यथा, अराजकताका संवाहकहरूले यस्ता गतिविधि दोहोर्याइरहने छन् र समाजमा आतंक सिर्जना गरिरहने छन् । कान्तिपुर मिडिया ग्रुप यसतर्फ सचेत रहन सम्बध्द सबै पक्षको ध्यानाकर्षण समेत गराउादछ ।’
