काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीको उक्साहटमा गणतन्त्रविरुद्ध षड्यन्त्र झएको बताएका छन् । समाजवादी मोर्चाले शुक्रबार गरेको शत्ति प्रदर्शनसभामा उनले सहमतिको आधारमा संविधान संशोधन गर्नुपर्ने बताए ।
‘नेपाली जनताले सामन्तवादी प्रवृत्ति, अधिनायकवादी हर्कतलाई पराजित गरेका छन् । जसको स्वर्ग ढल्यो, ती तत्वले विदेशीको उक्साहटमा गणतन्त्रविरुद्ध षडयन्त्र भइरहेको छ,’ उनले भने, ‘नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन् । प्रतिगामीहरूले राजतन्त्र फर्काउने कुरा गरेका छन् । हामीलाई कुनै प्रभुको खाँचो छैन । हामीलाई सामन्तवादी हैकम चलाउनेहरूको खाँचो छैन ।’
उनले बलिदानबाट आएको परिवर्तनलाइ पुँजीवादीहरूले कब्जा गरेर शोषण गरिरहेको बताए । ‘हामी मुक्ति चाहन्छौ । फेरि सामन्तीका भूतले अर्को बोझ थप्न खोजे हामी स्वीकार गर्छौ ?’ उनले राजावादीहरुभने, ‘गाडी चढ्ने सामन्त आएको बेला घोडा चढ्ने आए के हो होला ?’
उनले मुलुकमा राजतन्त्र फर्काउन खोजे फेरि राजावादीहरू पछुताउनु पर्ने बताए । ‘नेपालमा किन राजतन्त्र चाहियो ? अढाई सय सालसम्म राजतन्त्रले के गर्यो ? पञ्चायतदेखि अहिलेसम्म सबै थाहा छ । पञ्चायतमा बोल्न पाइँदैनथ्यो । कमैया, दलित, किसानमाथि दमन थियो,’ उनको चेतावनी थियो, ‘समाधान सामन्तवादी हुन सक्छ ? जनआन्दोलन, विद्रोहले ध्वस्त भएका मान्छेहरू धुलो टकटकाउँदै उठ्न थालेका छन् । विभिन्न प्रवृत्ति गठजोड गरेर राजतन्त्र फर्काउन खोजेका छन् । राजतन्त्र फर्केर के हुन्छ ? उनीहरू फेरि पछुताउनुपर्छ ।’
