काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । शुक्रबार साँझ ८ बजे बैठकका लागि डाकिएको एक मन्त्रीले कान्तिपुरलाई जानकारी दिए ।
शुक्रबारको घटनापछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । राजसंस्था पुन:स्थापनाका नाममा शुक्रबार भएको आन्दोलनमा हिंसात्मक भएको छ ।
काठमाडौंको तीनकुनेमा प्रहरीमाथि ढुंगामुढा र निजी घरहरूमाथि तोडफोड र आक्रमणपछि शुक्रबारका लागि तय भएको राजावादीको सभा बिथोलिएको छ । विभिन्न ठाउँबाट र्यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।
प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । गठनसँगै उक्त समिति विवादमा तानिएको थियो । राप्रपाका अध्यक्ष लिङ्देनले आफू उक्त समितिमा नरहेको जनाएका थिए ।
राप्रपाको कार्यसम्पादन समितिको बैठकले राप्रपा आफैंले आन्दोलन गर्ने कुनै व्यक्ति विशेषको नेतृत्वमा पार्टीलाई नलैजाने निर्णय लिएको थियो । तीनकुनेको सभा बिथोलिएपछि निस्किएका दुर्गा प्रसाईंले निजी सम्पत्तिमा आक्रमण नगर्न अपिल गरेका छन् ।
