प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिने सूचना छैन : सभामुखको सचिवालय

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

There is no notification that the Prime Minister will answer in Parliament: Speaker's Secretariat

काठमाडौँ — संसद्‌मा जारी अवरोध खुलाउनेबारे सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरिरहेका छन् । 

बिहीबार सभामुखले संघीय संसद् भवन नयाँबानेश्वरमा प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गरिरहेका हुन् । 

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट गैरकानुनी रुपमा हटाइएको भन्दै विपक्षी दलहरुले बुधबारदेखि संसद् अवरोध गरिरहेका छन् । 

विपक्षी दलहरुले घिसिङको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा जवाफ दिनुपर्ने माग गरिरहेका छन् । तर प्रधानमन्त्रीले भने जवाफ नदिने यसअघि नै बताइसकेका छन् । सभामुखको सचिवालयले पनि प्रधानमन्त्रीले जवाफ दिनेबारे कुनै तयारी नरहेको बताएको छ । 

‘सभामुखले अहिले बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतहरुसँग छलफल गरिरहनुभएको छ । अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन’, सभामुखको सचिवालयले भन्यो । 

कुलमान घिसिङ हटाइएको विरोधमा विपक्षी दलहरुले प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक चल्न दिएका छैनन् । प्रतिनिधि सभाको बैठक आज ११ बजेका लागि बोलाइएको थियो । तर साढे ११ हुँदासम्म पनि बैठक बस्न सकेको छैन । 

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजेका लागि आह्वान गरिएको छ । राष्ट्रिय सभामा पाँचवटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची छ । यी अध्यादेश प्रतिस्थापन विधेयक चैत १९ गतेभित्र पारित गरेर राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ । सदनको अवरोध कायमै रहे अध्यादेश प्रतिपस्थापन विधेयक पारित गर्न सरकारलाई सकस हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully