भएका पूर्वाधार पूर्ण रूपमा उपयोग नहुनु, निर्माण कार्यमा ढिलाइ, नीतिगत अस्पष्टता र अदूरदर्शिता जस्ता कारण लुम्बिनी प्रदेशले पर्यटनबाट अपेक्षित लाभ लिन नसकेको सरोकारवालाको भनाइ
भैरहवा — लुम्बिनी प्रदेशको धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि भैरहवामा अन्तर्राष्ट्रिय उडान, मुख्य सडक सञ्जाल र नीतिगत सुधारमा जोड दिनुपर्ने सरोकारवालाले औंल्याएका छन् । भएका पूर्वाधार पूर्ण रूपमा उपयोग नहुनु, निर्माण कार्यमा ढिलाइ, नीतिगत अस्पष्टता र अदूरदर्शिता जस्ता कारण लुम्बिनीले पर्यटनबाट अपेक्षित लाभ लिन नसकेको उनीहरूले बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रममा वक्ताले लुम्बिनीसँग सिंगो मुलुकलाई नै बचाउन र आर्थिक समृृद्धिमा नेतृत्व गर्न सक्ने सामर्थ्य रहेको बताए । मुख्य वक्ता उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनीको समृद्धिका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन र अन्य पूर्वाधार शीघ्र निर्माणको विकल्प नरहेको बताए । ‘सुरुमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ कि चाहिँदैन भन्नेमै विवाद थियो, बन्दै गर्दा पूरा हुन सक्दैन कि भन्ने थियो,’ उनले भने, ‘अहिले फेरि पूर्ण रूपमा सञ्चालन हुन सक्दैन, लगानी खेर गयो भनिएको छ । तर यो सत्य होइन । अब छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ ।’
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बढाउन अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि विशेष छुट सुविधाको प्याकेज ल्याउने अर्थमन्त्री पौडेलले बताए । ‘त्यसका लागि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्ससँग छलफल भइरहेको छ,’ उनले थपे, ‘अहिले सातामा १५ उडान गर्ने अवस्थामा आएका छौं ।’ यात्रुले लामो समयदेखि भोग्दै आएको सास्तीलाई ख्याल गर्दै नारायणगढ–बुटवल सडक खण्डमा बर्खाअघि नै एकतर्फी सवारी चल्ने गरी काम भइरहेको उनले बताए । अर्को एक वर्षमा सबै निर्माण सकिने उनको दाबी थियो । ‘राजनीतिक अस्थिरताको प्रभाव सामाजिक, आर्थिक तथा जीविकाका विभिन्न क्षेत्रमा देखिएको छ,’ उनले भने, ‘कामले पनि गति लिएको थिएन । जसले गर्दा धेरैलाई यो सडक बन्छ भन्ने विश्वास नै थिएन ।’
पूर्वाधार निर्माणका सन्दर्भमा मुलुकभर नै समस्या रहेको अर्थमन्त्री पौडेलले बताए । ‘हामी क्यालेन्डर बनाएर समयमै काम सक्न चुकेका छौं । यसबाहेक, आयोजना प्रक्षेपित लागतमा कहिल्यै पूरा हुँदैन, न त गुणस्तरीय काम हुन्छ । यी सबै समस्या पहिचान गरी सुधारका लागि कामको थालनी भइसकेको छ,’ उनले भने । बुटवलदेखि गोरुसिंगेसम्मको सडक खण्डको ठेक्का भइसकेको तथा गोरुसिंगे–चन्द्रौटा खण्डको निर्माण कार्य सुरु भइसकेको उनले जानकारी दिए । नारायणगढ–बुटवल सडकमा जस्तो समस्या यी सडकमा नरहेको उनको भनाइ थियो । मन्त्री पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन, नौमुरे बहुउद्देश्यीय आयोजनालगायतका पूर्वाधारमा काम अघि बढेको जानकारी दिए । ‘सडक कनेक्टिभिटी चुनौतीपूर्ण छ, हवाई यातायात सुविधा छ तर कहिले मौसमका कारण त कहिले व्यवस्थापनका कारण यात्रु समयमै गन्तव्यमा पुग्न सकेका छैनन्,’ उनले भने । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसकेको समेत उनले उल्लेख गरे ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले लुम्बिनी प्रदेशका नागरिकको जीवनमा परिवर्तन ल्याउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्नेमा जोड दिए । ‘उपप्रधान तथा अर्थमन्त्री, लुम्बिनीका मुख्यमन्त्री, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई मेरो विशेष अनुरोध छ– लुम्बिनी मात्रै नभएर देशकै अर्थतन्त्रका लागि महत्त्वपूर्ण योगदान गर्ने यो विमानस्थल सञ्चालनका लागि सबै उपाय लगाइदिनुस्,’ उनले भने, ‘जतिसक्दो छिटो नियमित अन्तर्राष्ट्रिय उडान हुने वातावरण बनाइदिनूस् ।’
नेपाल सरकारले भारतसँग उचित कूटनीतिक पहल गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि सीधा हवाई रुट खुला गर्नुपर्ने सिरोहियाको भनाइ थियो । ‘यहाँ धेरै पर्यटकको आवागमन होस् भन्ने चाहना पक्कै छ । तर बाहिरबाट यो सुन्दर सहरमा पर्यटक आइपुग्न सारै कष्ट छ । काठमाडौंबाट तोकिएकै समयमा हवाई उडान हुँदैन । विमानस्थलमा घण्टौं कुर्नु सामान्य जस्तै भइसकेको छ,’ उनले भने, ‘सडक मार्गबाट आउनका लागि बुटवल–नारायणगढ सडक ठूलो चुनौती छ । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ हाम्रो विकास निर्माणको लापरबाहीको एउटा ठूलो उदाहरण हो । यस सडक खण्डमा पछिल्लो समय प्रगति राम्रो छ, तर फेरि निर्माण अवरुद्ध नहोला भन्ने आधार छैन ।’
लुम्बिनीको पर्यटन विकासका लागि द्रुत गतिमा गाडी गुडाउन मिल्ने गरी सडक बनाउनुपर्नेमा सिरोहियाले जोड दिए । ‘सडकलाई नभत्काउनुस्, थप विस्तारका लागि भत्काउनुपरे भत्काइसकेपछि जतिसक्दो चाँडो निर्माण गरिदिनुहोस् । यस सहरमा काठमाडौं, चितवन, पोखरा जस्ता गन्तव्यबाट सहजै आवतजावत गर्न मिल्ने सडक पूर्वाधार बनाइदिनुहोस्,’ उनले थपे, ‘किनभने लुम्बिनी हेर्न विश्व समुदाय नै लालायित छ ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको झन्डै तीन वर्ष हुन लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन र व्यवस्थापनमा संघीय सरकार उदासीन रहेको भैरहवाका नेता र व्यवसायीले आरोप लगाएका छन् । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदा अर्बौं लगानी डुब्न लागेको गुनासो व्यवसायीहरूले गरे । अन्तर्राष्ट्रिय उडान नियमित नगराए आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिए ।
‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रमअन्तर्गत ‘लुम्बिनीको आह्वान ः अन्तर्राष्ट्रिय उडान’ सत्रमा होटल एसोसिएसन नेपाल लुम्बिनी प्रदेशका संयोजक चन्द्रप्रकाश (सीपी) श्रेष्ठले विमानस्थल सञ्चालनमा सरकार आफैंले चासो नदेखाएको आरोप लगाए । ‘सरकारले नै काठमाडौंका केही व्यक्तिको भनाइमा लागेर यो एयरपोर्ट नचलाएको हो,’ उनले भने, ‘भैरहवा विमानस्थलबाट जजिरा एयरलाइन्सले ८ महिनासम्म कुवेतका लागि अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेकै हो, त्यसपछि त्यो बन्द भयो । विमानस्थल शिलान्यास भएपछि यहाँका व्यवसायीले ८० अर्ब रुपैयाँ लगानी गरेर होटल बनायौं । सरकारले पनि विमानस्थल बनाउन ४० अर्ब रुपैयाँ लगानी गरेको थियो । अहिले दुवै लगानी डुब्ने अवस्थामा छ ।’
हालै मात्र प्रयागराजको कुम्भ मेलामा ६६ करोड हिन्दु भेला भएको उल्लेख गर्दै श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीमा भने ५० लाख पर्यटकसमेत ल्याउन नसकेको भनी सरकारको पर्यटन नीतिको आलोचना गरे । प्रायः बौद्ध धर्मावलम्बी र भारतीय पर्यटक स्थल नाकाबाट लुम्बिनी आउने तर अध्यागमन कार्यालयले भिसा दिन ६ घण्टासम्म लगाइदिने गरेको उनले सुनाए । नेपालमा धेरै पर्यटक भित्र्याउन अध्यागमन कार्यालयको सेवा यथाशीघ्र चुस्त–दुरुस्त बनाउनुपर्ने उनको सुझाव थियो ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नीति–निर्मातामा काम गर्ने इच्छाशक्ति नहुँदा विमानस्थल सञ्चालनमा समस्या आएको बताए । ‘मिठो कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति कायम रहँदासम्म यो समस्या समाधान हुन सक्दैन,’ उनले भने, ‘विमानस्थल बनाएपछि सञ्चालन गर्ने पहिलो जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणको हो । अर्थमन्त्री यही क्षेत्रको हुनुहुन्छ । उहाँले प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ भन्नुभएको छ । त्यसो भए भोलिदेखि नै सञ्चालन ल्याउन कसले रोकेको छ ?’
लुम्बिनीमा भएको विमानस्थललाई प्रदेशले नै नचिनेको र स्थानीय बासिन्दाले पनि अपनत्व महसुस नगरेको चौधरीको भनाइ थियो । गौतमबुद्ध विमानस्थललाई कैलाली, दाङ, रुकुममा रहेका अन्य विमानस्थलसँग जोड्न बाँकी रहेको उनको भनाइ थियो । ‘लुम्बिनीसँग धेरै कुरा जोडिन बाँकी छ, पहिलो कुरा यहाँका सर्वसाधारणसँगै जोडिन बाँकी छ,’ उनले भने, ‘बौद्ध मात्र होइन, धेरै हिन्दु पनि यहाँ आउन चाहन्छन् । नोबल पुरस्कार विजेता १८ जनासहित २ सय जना लगानीकर्ता पनि आउन खोजेका थिए तर हामीले ल्याउन सकेनौं । केन्द्र सरकारले स्वामित्व छोड्दा पनि नछोड्ने, प्रदेशलाई गर्न पनि केही नदिने स्थिति अन्त्य हुनुपर्छ ।’
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल सञ्चालनको काम सहकार्यमा आधारित हुने धारणा राखे । चीन, तुर्किएजस्ता देशको उदाहरण दिँदै उनले त्यहाँ पनि नयाँ विमानस्थल बनेपछि राजधानी वा केन्द्रका विमानस्थलमा ट्राफिक व्यवस्थापन गरिएको र त्यस्तै रणनीति नेपालमा पनि आवश्यक रहेको बताए । ‘विमानस्थल एक जनाले मात्रै चलाउने विषय होइन, जीडीपी (कुल गार्हस्थ्य उत्पादन) का सबै अंग यसमा जोडिन आउँछन्,’ उनले भने, ‘अर्थतन्त्रलाई चलायमान गर्न सक्ने अवयव कति सक्रिए भए, त्यसले पनि विमानस्थल सञ्चालनमा अर्थ राख्छ । यसलाई समग्रतामा हेर्नुपर्छ ।’ भैरहवा विमानस्थलको प्रवर्द्धनकै लागि प्राधिकरणले २०८३ सालसम्म ल्यान्डिङ, पार्किङ, नेभिगेसन र प्यासेन्जर सर्भिसमा शुल्क नलिनेजस्ता नीति अवलम्बन गरेको अधिकारीले जानकारी दिए । उनका अनुसार भैरहवा विमानस्थलमा भिसा सेन्टर नभएकाले अन्तर्राष्ट्रिय उडान सञ्चालन प्रभावकारी बन्न सकेको छैन । कामदार भिसाका लागि सेवाग्राहीले काठमाडौं नै जानुपर्ने बाध्यता रहेकाले भैरहवाबाट यात्रा गर्न झन्झटिलो बनेको उनको भनाइ थियो ।
लुम्बिनी क्षेत्रको प्रचारप्रसार कमी हुनु, व्यावसायिक गतिविधि सुस्त हुनु जस्ता कारणले विमानस्थल सञ्चालनमा अवरोध पुगेको अधिकारीले बताए । ‘लुम्बिनी विकास कोषको जिम्मा लिएर म प्रचारप्रसार गर्न सक्दिनँ, उद्योग खोल्न सक्दिनँ, विमानस्थल डिफंक्ट भएर जहाज रोकियो वा डाइभर्ट भयो भने मात्रै मलाई दोष लगाउनुस्,’ उनले भने, ‘लुम्बिनीको प्रचारप्रसार र उडान नियमित गर्यो भने विमानस्थल चल्छ ।’ उनले नेपालमा विमानस्थलको संख्या बढे पनि जहाज संख्या न्यून हुँदा परनिर्भर हुनुपरेको बताए ।
बौद्ध विश्वविद्यालयकी सहप्राध्यापक शारदा पौडेलले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि बौद्ध दर्शन, कला, साहित्यमा ज्ञान बढाउन जरुरी रहेको बताइन् । ‘गौतमबुद्धले बौद्ध धर्मप्रति आस्थावान् वा शान्ति चाहने कुनै पनि मान्छेले लुम्बिनी, बोधगया, सारनाथ र कुसीनगर गरी चार स्थान जानू, त्यहाँ जानेले परम शान्ति पाउँछन् भन्नुभएको छ,’ उनले भनिन्, ‘हामी बुद्ध, बुद्ध भनिरहेका छौं तर बुद्धको दर्शन मनन गरिरहेका छैनौं ।’
