सिरहा — सिरहाको औरहीको महायज्ञका नाममा अछुत भन्दै दलित परिवारमाथि ज्यादती गरिएको घटनामा प्रहरी हिरासतमा रहेका गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई म्याद थपका लागि आज अदालत लगिँदै छ ।
गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई सिरहा जिल्ला अदालतमा पेस गरेर आज फेरि अनुसन्धानका लागि म्याद थप गराउन लागिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनीहरू गत ८ गते साँझ पक्राउ परेका थिए । यसअघि आइतबार अदालतले प्रहरीलाई उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको थियो ।
औरही गाउँपालिका-५ मा महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको दलित समुदायका दीपक मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।
यस घटनामा पीडित दीपक मल्लिकले गत ९ गते जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा तीनै जनाविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका छन् । जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै प्रतिवादीहरूलाई कानुन बमोजिम कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।
जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ । यस घटनामा बजरंजी बाबा भने अझै फरार छन् ।
