मस्तिष्क पक्षाघातले सृष्टिको दाहिने हात चल्दैन, दाहिने आँखा र खुट्टा पनि कमजोर छन्, बोली स्पष्ट छैन, देब्रे हात पनि सुस्त चल्छ तर हिम्मत नहारी एसईई लेखिरहेकी छन्
कास्की — ‘आत्तिने होइन । पहिला प्रश्न पढ्नू अनि जानेको लेख्नू । गाह्रो भयो भने सर–म्याडमसँग भन्नू है ।’ सृष्टि आचार्य हरेक दिन परीक्षा केन्द्र पस्नुअघि बुबा लोकराजले यसरी नै ढाडस दिन्छन् । घाँटीमा अपांगता परिचयपत्र झुन्ड्याएकी सृष्टि टाउको हल्लाएर ‘हुन्छ’ संकेत गर्छिन् ।
मस्तिष्क पक्षाघातले सृष्टिको दाहिने हात चल्दैन । दाहिने आँखा, खुट्टा पनि कमजोर छ । पक्षाघातकै असरले बोली स्पष्ट छैन । उनी देब्रे हातले लेख्छिन् । दुई वर्षअघि भाँचिएकाले देब्रे हात पनि सुस्त चल्छ । शारीरिक अपांगतासँग जुधेरै उनले परीक्षा दिइरहेकी छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को केन्द्र छ पोखरा–३ नदीपुरस्थित कन्या माविमा । लोकराज परीक्षाको दिन बिहान पोखरा महानगरपालिका–११ काहुँबाट स्कुटरमा कन्या मावि पुग्छन् र छोरीलाई हौसला दिन्छन् ।
कास्कीमा यस वर्षको एसईईमा मस्तिष्क पक्षाघात भएका विद्यार्थी चार जना सहभागी छन् । सृष्टि सहयोगीबिनै परीक्षा दिने एक्ली विद्यार्थी हुन् । ‘बोलेको नबुझिने भएर हामीले सहयोगी राख्न मिलेन,’ लोकराजले सुनाए, ‘छोरीले म आफैं लेख्छु, समय तीन घण्टाले पुग्दैन भनेपछि अपांग महासंघ, शिक्षा विकासमा गएर पत्र बनाएको छु ।’
एसईईको तयारी गर्न सृष्टि एक महिनादेखि पोखरा गैह्रापाटनको होस्टेलमा बसेकी छन् । होस्टेल जानुअघि उनले बुबालाई एउटा कागज थमाएकी थिइन् । त्यसमा फोन नम्बर लेखिएको थियो जुन सृष्टिले गुगलबाट पत्ता लगाएकी थिइन् । त्यो नम्बर राष्ट्रिय अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माको थियो । परीक्षामा थप समय चाहिने भएकाले सृष्टिले शर्माको नम्बर खोजेकी थिइन् ।
लोकराजले त्यही नम्बरमा फोन गरे । अध्यक्ष शर्माले उनलाई शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्यसँग भेट गराए । लोकराजले शिक्षा प्रमुखलाई आग्रह गरे, ‘मेरी छोरीलाई मस्तिष्क पक्षाघात छ । हात राम्रोसँग नचल्ने भएर छिटो लेख्न सक्दिनँ । उसलाई समय थपिदिनुपर्यो ।’ शिक्षा प्रमुख मन्जुरी दिन तयार भए ।
सृष्टिको देब्रे हात दुई वर्षअघि लडेर भाँचिएको थियो । त्यसैले लेख्न प्रयोग गर्ने हात निकै सुस्त चल्छ । लोकराजले सृष्टिको अपांगता परिचय–पत्र, अपांग महासंघको अनुरोधपत्र, एक्स–रे रिपोर्ट लिएर शिक्षा प्रमुखलाई फेरि भेटे । शिक्षा प्रमुखले पत्रमा तोक लगाइदिएपछि उनी सृष्टिको परीक्षा केन्द्र गए । शिक्षा प्रमुखले पनि सहजीकरण गरिदिन भनेपछि परीक्षा केन्द्राध्यक्षले डेढ घण्टासम्म समय थपिदिए ।
कालिका माविकी विद्यार्थी सृष्टि कन्या माविमा ७ चैतदेखि एसईई लेखिरहेकी छन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुन्छ । सृष्टिलाई तीन घण्टा अन्य विद्यार्थीसँगै एउटै कोठामा राखिन्छ । अरू विद्यार्थी निस्किएपछि शारीरिक अपांगता भएका उनीसहित दुई जनालाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिएको छ ।
सृष्टि परीक्षा दिइरहँदा बुबा लोकराज गेटमै कुरिरहन्छन् । घरि चौतारीमा सुस्ताउँछन्, घरि गेट नजिकै पुगेर उभिन्छन्, घरि विद्यालय पारिपट्टि चिया पसलसम्म पुग्छन् । ‘उसको होस्टेलका सबै साथी परीक्षा सकेर ११ बजे जान्छन् । म उसलाई स्कुटरमा राखेर होस्टेल पुर्याएर घर जान्छु,’ लोकराजले भने ।
सृष्टिको परीक्षा सकिने बेला मंगलबार लोकराज गेटछेउमा बसिरहेका थिए । सृष्टिले दोस्रो तलाबाट ओर्लने आँट गरिनन् । एकैछिन माथिबाटै बुबातिर हेरिरहिन् । लोकराजले देखे । उनी सृष्टिलाई लिन दौडिए । लोकराजले सोधे, ‘कस्तो गर्यौं ?’ सृष्टिले प्रश्नपत्र देखाउँदै एउटा प्रश्न गर्न नभ्याएको सुनाइन् । लोकराजले ‘केही हुँदैन’ भनेर सम्झाए । यसपछि उनी सृष्टिलाई होस्टेल पुर्याएर बिदा भए ।
सृष्टिलाई जन्मजात नै पक्षाघात छ । तीन वर्ष पुग्दा पनि बोली नफुटेपछि र उभिन, हिँड्न नसकेपछि परिवारले उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको थियो । त्यही बेला डाक्टरले पक्षाघात भएको बताएका थिए ।
सृष्टि ठीक हुने आसमा परिवारले कहिले अस्पताल, कहिले फिजियोथेरापीका लागि क्लिनिक लगिरह्यो । लोकराज विदेश भएकाले आमा धनमायाले हरेक दिन सृष्टिलाई फिजियोथेरापी गराउन लान्थिन् । बिस्तारै सृष्टि अरूको भरथेगमा हिँड्न सक्ने भइन् । त्यसपछि उनी स्कुल जान थालिन् । सबै कक्षा नियमित उत्तीर्ण गरिन् । सृष्टि कक्षामै बेहोस पनि हुन्थिन् । दुई वर्षअघि आन्तरिक परीक्षा दिइरहँदा उनी बेहोस भइन् । लोकराज आत्तिँदै विद्यालय पुगे । अस्पताल लगेर स्लाइन चढाएपछि सृष्टिको होस खुल्यो । अनेक कष्टबीच सृष्टिले हिम्मत भने हारेकी छैनन् । सृष्टिले एसईई दिइरहँदा बुबा लोकराजको खुसीको सीमा छैन ।
लोकराजका पाँच सन्तानमध्ये सृष्टि कान्छी हुन् । सृष्टिका एक दाइ जापान र दुई दाइ पोखरा नै छन् । दिदी काठमाडौंमा डेन्टल नर्स छिन् । उनीहरूमा कुनै शारीरिक अशक्तता छैन । कान्छी छोरीको पढ्ने रहरलाई परिवारले पनि सक्दो साथ दिएको छ । कहिले बुबा, कहिले आमा उनको झोला बोकिदिएर स्कुलसम्म ल्याउने–लैजाने गर्छन् । सृष्टिले ऐच्छिक विषयतर्फ अर्थशास्त्र र कम्प्युटर पढेकी छन् ।
पढाइप्रति सृष्टिको लगाव देखेर उनका शिक्षक पनि प्रभावित छन् । कालिका माविका प्रधानाध्यापक युवराज आचार्यले सृष्टि नियमित विद्यालय आउने गरेको बताए । सृष्टिले कक्षा ११–१२ पनि पढ्ने भन्ने गरेको उनले सुनाए ।
यो वर्ष कास्कीबाट अपांगता भएका सृष्टिसहित ३३ जना एसईईमा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्यले जानकारी दिए । उनका अनुसार सुस्त श्रवण २०, साधारण दृष्टिविहीन ९, मतिष्क पक्षाघात र हात राम्रोसँग नचल्ने शारीरिक अपांगता भएका चार जना छन् । कास्कीमा यो वर्ष ११ हजार ३७ विद्यार्थी एसईईमा सहभागी छ ।
