काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताएका छन् ।
मंगलबार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भए पनि विरोधीहरु सपना साकार पार्न नदिन लागिपरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भए पनि त्यसो नभइरहेको बताए । ‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्प बोकेका छौँ । केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनका लागि लागेका छन् । त्यो स्वाभाविक पनि हो । विरोधीहरू लाग्छन् । यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो । तर त्यस्तो भइरहेको छैन । कसरी सरकार वा आफूबाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न, झुटलाई फैल्याउन सकिन्छ, यस्ता कुरामा उहाँहरू बहुतै सक्रिय देखिनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
२०४६ सालको परिवर्तनपछि देश तीव्र गतिमा अघि बढिरहेको पनि प्रधानमन्त्री ओलीको दाबी छ । उनले विकासका लागि पहिला पूर्वाधार आवश्यक रहेको र पूर्वाधार नगरी विकास गर्न नसकिने बताए ।
