कास्की — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पढे–लेखेको पुस्ता कृषि क्षेत्रमा जान नखोज्नु देशमा बेरोजगारी बढ्नुको कारण भएको टिप्पणी गरेका छन् । देशमा कुनै समय ७० प्रतिशत जनसंख्या कृषिमा आबद्ध रहेको तर नयाँ पुस्ता कृषिसँग जोडिन नचाहेकाले सबैलाई रोजगारी सिर्जना गर्न नसकिएको उनले बताए ।
‘पढे-लेखेको पुस्ता कृषिमा जान चाहँदैन । कुनैबेला हाम्रो ७० प्रतिशत जनसंख्या कृषिमा मात्र थियो,’ सोमबार पोखरामा कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद्को उद्घाटनमा बोल्दै उनले भने, ‘एकैचोटी ७० प्रतिशत हिस्साका लागि रोजगारी सिर्जना गर्ने कुरा सम्भव छैन । नयाँ पुस्ता र नेपालको अर्थतन्त्रबीच तादम्यता बनाउन सकिएन ।’ निर्वाहमुखी उत्पादन पद्धतिमा परिवर्तन हुन नसक्दा नयाँ पुस्तामा निराशा बढेको महासचिव पोखरेलले दाबी गरे ।
देश बिग्रिएको भनेर गलत भाष्य स्थापित गर्न खोजिएको उनले जिकिर गरे । युरोप, अमेरिकाको विकाससँग तुलना गरेर नेपालको प्रणालीप्रति निराशा प्रकट गर्ने काम गरिएको महासचिव पोखरेलको भनाइ थियो । राजतन्त्र मक्किएको, असफल, असान्दर्भिक व्यवस्था भएको जिकिर गर्दै उनले अहिले राजतन्त्रको पक्षमा बहस गर्ने जमात तयार भएको बताए । ‘त्यो जमातले पहिले राम्रो थियो अहिले बर्बाद बनाए भन्ने कुरा गर्न थालेको छ । पहिला के राम्रो थियो अहिले के बर्बाद बनाए भन्ने तथ्यमा कोही प्रवेश गर्नै खोजेको छैन,’ उनले भने । मिथ्या सूचनाले समाजलाई अशान्त, अराजक र दिशाहीन बनाएको पोखरेलले टिप्पणी गरे ।
बैंकमा काम गर्नेले अवकासबारे सोच्न नहुने महासचिव पोखरेलको भनाइ थियो । जागिरे जीवनको सिकाइलाई अवकासपछि पनि प्रयोग गर्न उनले बैंकर्सलाई आग्रह गरे । ‘बैंकको जागिरपछि समाजमा के गर्ने भन्ने योजना बनाउनुपर्छ । कुनै न कुनै प्रकारको उद्यममा संलग्न हुने योजना काम गरिरहेकै बखत सोच्नुपर्छ,’ पोखरेलले भने । व्यवस्थापीय क्षमता अभावको कारणले नेपालमा उद्यमशीलता विकास हुन नसकेको उनको टिप्पणी थियो ।
इमानदार र अयोग्य ऋणी छुट्याउन नसक्दा बैंक बेलाबखत संकटमा पर्ने गरेको उनको दाबी थियो । ऋण प्रवाह गर्नेबेला कागजातसँगै मनोविज्ञान पनि पढ्न महासचिव पोखरेलले बैंक म्यानेजरलाई सुझाए । ‘डकुमेन्ट त अर्कालाई तयार पार्न लगाएर राम्रो ल्याउन सक्छ । उसले प्रस्तुत गर्ने प्रस्तावमा काम गर्न योग्य छ कि छैन भन्ने मूल्यांकन गर्न सक्नुपर्छ,’ उनले भने, ‘कागज र मनोविज्ञान पढ्ने काम गरियो भने वित्तीय संस्था कहिल्यै संकटमा पर्दैन ।’
कोभिडपछि अबलम्बन गरिएको वित्तीय नीति र राजनीतिक अस्थिरता आर्थिक संकट देखिनुको कारण भएको महासचिव पोखरेलले बताए । राजस्व, पुँजीगत खर्च, विदेशी मुद्राको सञ्चिती बढेकाले आर्थिक क्रियाकलाप सुधारको दिशामा अघि बढेको उनले दाबी गरे । बैंकमा तलरता विस्तार भएपनि लगानी हुन नसक्नु भने चिन्ताको विषय भएको महासचिव पोखरेलले बताए ।
