गृहमन्त्री लेखकले बैठकमा भनेका थिए, 'यो ठीक हुँदैन, कुलमानलाई हटाउने कुरा ठीक हुँदैन । बाहिरको स्थिति ठीक छैन, भल्नरेबल अवस्था छ यस्तो बेलामा यो निर्णय गर्ने कुरा ठीक होइन ।'
काठमाडौँ — नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयमा कांग्रेसका मन्त्रीहरू नै विभाजित भएका छन् ।गृहमन्त्री रमेश लेखकले कुनै पनि हालतमा घिसिङलाई हटाउन नहुने बताएका थिए भने ऊर्जामन्त्री दीपक खड्काको हटाउनैपर्ने जिद्दीमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले साथ दिएकी थिइन् । कांग्रेसका बाँकी मन्त्रीहरू भने मौन रहेका थिए ।
एक मन्त्रीले दिएको जानकारीअनुसार मन्त्रिपरिषद्को बैठकमा ऊर्जामन्त्री खड्काले घिसिङलाई पदबाट हटाउनैपर्ने भनी जिद्दी गरेका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकलाई के गर्ने ? भनेर सोधेका थिए । लेखकले बैठकमा भनेका थिए, 'यो ठीक हुँदैन, कुलमानलाई हटाउने कुरा ठीक हुँदैन । बाहिरको स्थिति ठीक छैन, भल्नरेबल अवस्था छ यस्तो बेलामा यो निर्णय गर्ने कुरा ठीक होइन ।'
त्यसपछि पनि मन्त्री खड्काले घिसिङलाई हटाउनैपर्ने जिद्दी प्रधानमन्त्री समक्ष राखेका थिए । त्यतिबेला परराष्ट्रमन्त्री राणाले पनि साथ दिएकी थिइन् । लेखकले मन्त्रीको जिद्दीका आधारमा निर्णय गर्ने भए गर्नु तर निर्णय सही नहुने भनेर आफ्ना धारणा राखेको एक मन्त्रीको उल्लेख गरे । त्यसपछि लेखकले भनेका थिए, 'कुलमान घिसिङ अदालतबाट पुन:स्थापित भएर आउँछन् । सरकारलाई इम्ब्यारेसिङ हुन्छ, यो निर्णय उचित हुन्छ भन्ने मलाई लाग्दैन ।'
लेखकको भनाइमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले थोरै कुरा राखेर साथ दिएको ती मन्त्रीको भनाइ छ । एमालेबाटै शिक्षामन्त्री रहेकी विद्या भट्टराईले पनि घिसिङलाई हटाउन नहुने संकेत गरेको तर एमालेका बाँकी मन्त्रीहरूले भने हटाउनुपर्ने धारणा राखेको ती मन्त्रीको भनाइ छ ।
'कांग्रेसका बाँकी मन्त्री बोल्नुभएन । एमालेका अर्थ र शिक्षामन्त्रीले लेखकको भनाइमा समर्थन गरेजस्तो गर्नुभयो, ऊर्जामन्त्री खड्काले जिद्दी गर्नुभयो र परराष्ट्रमन्त्रीले त्यसमा साथ दिनुभयो,' ती मन्त्रीले भने ।
मन्त्रिपरिषद्ले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
