निजामती कर्मचारीले 'आन्तरिक पर्यटन बिदा' पाउने

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

Civil servants will get 'Internal Tourism Leave'

काठमाडौँ — निजामती कर्मचारीलाई आन्तरिक पर्यटन बिदा मिल्ने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'मा कर्मचारीले प्राप्त गर्ने बिदा शीर्षक थप गरिएको हो । 

राज्यव्यवस्था समितिमा रहेका सबै राजनीतिक दलहरूबीच भएको सहमतिअनुसार कर्मचारीलाई आन्तरिक पर्यटन बिदा पनि मिल्ने भएको  हो । 

सरकारले निजामती कर्मचारीले पाउने बिदाको सूचीसहित विधेयक प्रस्ताव गरेको थियो । जसमा भैपरी आउने र पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, मृत्यु संस्कार बिदा, विवाह बिदा, पर्यटन बिदा, अध्ययन बिदा र असाधारण बिदा दिने विधेयकमा प्रस्ताव गरिएको थियो । 

राज्यव्यवस्था समितिले निजामती विधेयक टुगो लगाउन गठन गरेको उपसमितिले भने 'आन्तरिक पर्यटन बिदा'को सुविधा दिने भएको हो । 'बिदा निजामती कर्मचारीको अधिकारका रूपमा नभई सहुलियतका रूपमा रहने' विधेयकमा उल्लेख छ । त्यसरी लिइएको बिदा कर्मचारीको सेवा अवधिमा गणना गरिने व्यवस्था प्रस्ताव गरिएको छ । 

कुनै निजामती कर्मचारीको पति वा पत्नी विदेशस्थित नेपाली राजदूतावास वा कुनै नियोगमा खटिई गएमा त्यस्तो निजामती कर्मचारीले तोकिएबमोजिम बेतलबी बिदा पाउने व्यवस्था विधेयकमा रखिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully