इतिहासमा भए गरेका गल्ती सच्याउनुको विकल्प छैन : शर्मा

चैत्र १०, २०८१

लक्ष्मी गौतम

There is no alternative to correcting the mistakes made in history: Sharma

पाँचथर — माओवादी उपमहासचिव जनार्दन शर्माले पार्टीले जनतासँग गरेका बाचा पूरा गर्न नसकेकै कारण पार्टी संगठन कमजोर भएकाले अब दोहोर्‍याउन नहुने बताएका छन् ।

प्रेस सेन्टर पाँचथरले फिदिममा गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले पार्टीले यसअघि पटक-पटक जनतालाई धोखा दिएको बताए । ‘जनयुद्व, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधान लेखन र राज्यको पुनः संरचनाका क्रममा जनतासँग गरेका केही महत्वपूर्ण बाचा पूरा गर्न सकेनौं, त्यो ठूलो भुल थियो । अब त्यस्ता गल्ती पुनः दोहोर्‍याउनु हुँदैन,’ उनले भने ।

पार्टी नेतृत्वले विगतमा गरेको गल्तीकै कारण माओवादीलाई जनताले अरु जस्तै देख्ने गरेको उनको भनाइ थियो । पार्टीको जनाधार कमजोर भएकै कारण नेतृत्व पंक्ति एकताबद्व भएर सुदृढीकरणमा लागेको भन्दै शर्माले अब पार्टी र संगठनसँगै समाजको नेतृत्व गर्न माओवादी अग्रसर हुनुपर्ने उनको धारणा थियो ।

‘लोकतन्त्र स्थापना भएपछि धेरै काम राम्रा भएका छन्, संविधानको परिकल्पनाअनुसार अघि बढेको समावेशीकरण त्यसको एउटा उदाहरण हो, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउन राजनैतिक दल इमान्दार हुनुपर्छ,’ उनले भने । 

जनताको बलिदान र साहसले फालिएको राजतन्त्र पुनः ब्युतिन्छ भन्ने भ्रम मात्रै भएकाले त्यस्ता अनर्गल प्रचारबाट सचेत नागरिक टाढा रहेको उनको टिप्पणी थियो ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully