विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली

चैत्र १०, २०८१

रासस

The country has moved forward at the pace of development: Prime Minister Oli

काठमाडौँ —  प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको ‘टुगेदर फर टुमरो : युथ एन्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले समस्या भए पनि त्यसको समाधानका लागि सरकार प्रयासरत भएको बताएका हुन् । 

आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएकोसमेत प्रधानमन्त्री ओलीको भनाइ छ ।

'हामीले थुप्रै मेडिकल कलेज बनायौँ, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौँ । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन् । त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ,' प्रधानमन्त्री ओलीले भने, 'हाम्रा छोरीहरुले विशेषज्ञ चिकित्सको सपना देख्नुुभएको छ, त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुुभएको छ, यो अहिलेको समयको उपलब्धि हो ।'

प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना तथा कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले त्यसमा लाग्न आग्रह गरे । 'हामी भावनात्मक ढङ्गले चल्नुु हुँदैन, अहिले जति पनि समस्या छन्, ती विकासको गतिसँगै आएका हुन् । त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुुपर्छ,' उनले भने । 

कार्यक्रममा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब एक सय ४० युवाको सहभागिता थियो । उनीहरूले आ–आफ्नो क्षेत्रको अवस्था र समस्या राखेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस रूपमा प्रतिवेदन ल्याउन आग्रह गरे । 

रासस

Link copied successfully