हात्तीमा मातृसत्ता हुन्छ : अशोक राम [अन्तर्वार्ता]

हात्तीले आफ्ना पुर्खा हिँडेको बाटो सम्झिरहेका हुन्छन्, त्यो खोज्दै यात्रामा निस्कन्छन् 

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Elephants have matriarchy: Ashok Ram [Interview]

चितवन — बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत अशोक राम विरलै फुर्सदमा भेटिन्छन् । भारत देहरादूनस्थित वाइल्ड लाइफ इन्स्टिच्युट अफ इन्डियाबाट ‘इलाफेन्ट इकोलोजी’मा विद्यावारिधि (पीएचडी) राम हालै मात्र रौतहटको चन्द्रपुर-२ स्थित सामुदायिक वनमा घाइते अवस्थामा भेटिएको जंगली हात्तीको उपचारको क्रममा थिए । जंगली हात्तीको स्वभाव, आहारविहारमा उनीहरुको संघर्ष र हात्तीहरुको मानव समाजसँग देखा परेका संघर्षका अनेक आयामबारे अध्ययन र अनुसन्धानमा तल्लीन हात्तीविज्ञ रामसँग कान्तिपुरका रमेशकुमार पौडेलले गरेको कुराकानीको सम्पादित अंश : 

नेपालमा जंगली हात्तीको अवस्था कस्तो छ ? 
झापादेखि चितवन-पर्सासम्म १२० भन्दा बढी र कञ्चनपुरदेखि कपिलवस्तुसम्म १५० गरी २७० भन्दा बढी जंगली हात्ती छन् । नेपाल र भारतका हात्तीको ओहोरदोहोर चलिरहन्छ । तर नेपालभित्रै पूर्व र पश्चिमका हात्तीबीच मिलन हुन सकेको छैन । भारत पश्चिम बंगलबाट मेची तरेका केही हात्ती सिधै बहुवन हुँदै हमसेदुम्से जंगल पुग्छन् । त्यहाँबाट कत्लेको जंगल र त्यसपछि मोरङ सुन्दर हरैंचा लेटाङ र पछि चतरासम्म आइपुग्छन् । एकपटक त ३२ वटा हात्तीको समूह झापा बाहुनडाँगी हुँदै कोशी टप्पुसम्म आइपुगेका थिए । अहिले सुन्दर हरैंचामा २६ देखि ३० वटा र त्यही भेगतिर ६५ वटा जंगली हात्ती छन् । समूहबाट अलग्गिएका एकल हात्ती कहिलेकाहीँ झापाबाट पर्सा र चितवनसम्म पनि आइपुग्छन् । तर चितवन राष्ट्रिय निकुञ्ज कटेर हात्ती पश्चिम पुगेका छैनन् । वाल्मीकि आश्रमपारि भारतसम्म त पुगेको छ तर दाउन्ने पश्चिम हात्ती गएको छैन । Elephants have matriarchy: Ashok Ram [Interview]

पश्चिममा भारतका संरक्षित क्षेत्र नन्दुर, कर्बेट नेसनल पार्क र पिलिभित, दुदुवा, कर्तनिया घाटबाट नेपाल आउने गरेको देखिन्छ । केही हात्ती कर्तनियाबाट खाता करिडोर हुँदै बर्दिया आइपुग्छन् । बर्दियाका हात्ती बबई भ्याली भएर पूर्वतर्फ बाँके निकुञ्जसम्म आउँछन् । पहिला दाङ, भालुबाङसम्म समूहमा हात्ती पुग्थे । रुपन्देही र पश्चिमी नवलपरासीमा जंगली हात्ती देखिएको छैन । 

कस्ता हात्तीले बेलाबखत समस्या निम्त्याउँछन् ?
नेपालमा मैले गरेको गणनाअनुसार सन् २०१७ देखि २०२२ सम्म ३७ वटा र पछि थप १० वटा गरेर ४७ वटा हात्तीले लामो दूरी पार गरेको देखियो । उनिहरुमध्ये धेरैजसो एक्लै र कोही समूहमा हिँड्छन् । यस्ता हात्तीको एउटा समूहमा १३ वटासम्म पनि भेटेका छौं । हात्तीको समूहबाट खेदिएपछि एक्लै हिँड्ने या समूह बनाउने पनि गर्छन् । यस्ता खेदिएका हात्तीले लामो दूरी तय गर्दा मानवसँग जम्काभेट हुन्छ । एउटा जंगलबाट अर्कोमा जाँदा बस्ती पर्छ । किनकि हात्तीको बासस्थल खण्डीकरण भएको छ । यस्तो बेला हात्ती बालीनालीमा पुग्छ अनि मानिससँग द्वन्द्व सुरु हुन्छ । यस्तो द्वन्द्वमा मानवीय क्षति हुने गरेको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जमा मकुना र दारे लगायतका सात/आठ हात्ती सुमुदायमा पसेर दुःख दिइरहेका छन् । चितवनमा मकुना रोनाल्डो, गोविन्दे, ध्रुवे र पर्सामा यम गज, एक दन्ते, कोशीमा कोशी दाह्रे, झापामा मकुना र दाह्रे जस्ता केही चिनिएका हात्तीले समस्या ल्याइरहेका छन् । यो समस्या समाधानका लागि रियल टाइममा काम गर्नुपर्छ । यी हात्ती जंगल गाउँतिर छिर्नेबित्तिकै कर्मचारी र गस्ती टोली खटाउनुपर्छ । उनीहरुको गतिविधि हेर्दै जंगलतिर फर्काउने प्रयास गरे मानव-वन्यजन्तु द्वन्द्व घटाउन सक्छौं । 

हात्तीले लामो यात्रा केका लागि गर्छन् ? 
हात्तीलाई दैनिक दुई सय किलो घाँस र दुई सय लिटर पानी चाहिन्छ । परिवार ठूलो हुन्छ । यसको पुर्ती एकैठाउँबाट हुँदैन । त्यसैले रणनीतिक रुपमा पनि हात्ती समूहमा बाँडिन्छन् । बाँडिएरै खाने कुरा खोज्ने, साथी खोज्ने र प्रजजन यात्रा गर्छन् । उनीहरुले आफ्ना पुर्खा हिँडेको बाटो सम्झिरहेका हुन्छन्, त्यो खोज्दै हिँड्छन् । अर्को मुख्य कुरा वंश वृद्धिको लक्ष्य राखेर पनि भाले हात्तीले लामो लामो यात्रा गर्छन् । बलियो जिन ट्रान्सफर होस् भन्ने उनीहरुको उद्देश्य हुन्छ । चितवनका जति पनि जंगली भाले हात्ती छन्, ती यहाँका होइनन् । पूर्वबाटै लामो यात्रा गरेर यहाँका पोथीसम्म आइपुगेका हुन् ।Elephants have matriarchy: Ashok Ram [Interview]

अर्को महत्वपूर्ण कुरा हात्तीमा मातृसत्ता हुन्छ । समूहमा बस्ने हात्तीलाई प्राय: हजुरआमाले नेतृत्व गरेको हुन्छ । आफ्नो नाति पुस्तालाई हात्तीले बढी माया गर्छ । समूहलाई संरक्षण गर्ने क्रियाकलाप हजुरआमा पुस्ताको हात्तीले तय गर्छ । हात्तीमा पनि किशोर अवस्था आउँछ । ‘टीनसिप’ मा भएका भाले हात्ती अलि बढी उरन्ठेउला र बदमास हुन्छन् । आफ्नै वंशभित्रै यौन क्रियाकलाप गर्ने खतरा रहेका कारण उनीहरु समूहबाट निकालिन्छन् । हात्ती हाडनाता नहोस् भनेर सजग हुन्छन् । जंगली हात्तीको ग्रुपमा ब्रिडिङ बुल (प्रजनन भाले) त एउटा मात्रै हुन्छ । त्यसले अरुलाई समूहमा पस्न पनि दिन्न । समूहमा बसेको ब्रिडिङ बुललाई पनि अर्को बलियो हात्तीले विस्थापित गर्छ । गोविन्द, ध्रुवे, रोनाल्डोजस्ता हात्ती उरन्ठेउला भएर समूहबाट खेदिएका पनि हुन्छन् । आठ-१० वर्षदेखि २० वर्षका हात्ती यसरी समूहबाट बाहिर निकालिन्छन् । 

हात्तीको मृत्यु प्राकृतिक कारणबाहेक के कारणले भइरहेको छ ?
४७ वटा जंगली भाले हात्तीमध्ये २३ वटा २०१७ देखि २०२२ बीचमा मरे ।  तीनवटा हात्ती एकपसमा जुधे मरे । नौ वटा जति त करेन्ट लागेर मरे । तीनवटालाई सिकारीले गोली हानेर मारे । चितवनमा एउटा मकुना हात्ती आत्मरक्षाका लागि प्रशासनले चलाएको गोलीबाट मर्‍यो । रेडियो कलर राख्ने क्रममा पनि हात्ती मरेको छ । 

हात्तीबाट जोगिने आधारभूत उपाय के हुन सक्छ ?
हामी कहाँ छौं, त्यहीअनुसार सजग हुनुपर्छ । कतै रुख ढलेको देखियो भने त्यहाँ हात्ती हुन सक्छ भन्ने बुझ्नुपर्छ । हात्तीको आलो दिसा र पाइला छ भने त्यहाँ जानुभएन, फर्किनुपर्‍यो । निकुञ्जकै गस्ती गए पनि बाटो बदल्नुपर्छ । बाहिर गाउँमा पनि हात्ती निस्कन्छ । यस्तो बेला ढुंगामुढा गर्ने होइन । यसका जानकार व्यक्ति को छन्, तत्काल उनीहरुलाई खबर गर्नुपर्छ ।Elephants have matriarchy: Ashok Ram [Interview]

हात्तीको व्यवहार नसोचेको हुन्छ । हात्तीले बदला र रिसिबी राख्न सक्छ । हात्तीसारमा पनि हात्तीलाई बञ्चरो, खुर्पाले हानेको देख्छौं ।  हात्तीले बदमासी गरेको छ र त्यसलाई सही ट्रयाकमा ल्याउन माहुतेले पिटेको हो भने हात्तीले यस्ता घटना बिर्सन्छ । तर खाना खान नदिने, त्यसै हिर्काउने गरेर दु:ख दियो भनेर बुझिहाल्छ । अनि यसको बदला लिन्छ । त्यस्तो बेला माहुतेको पनि मृत्यु हुन सक्छ । २२ वर्षसम्म एउटै हात्ती स्याहारेर बसेको माउतेलाई पनि हात्तीले कुल्चेर मारेको घटना छ । 

जंगली हात्तीले पनि गाली गरे, ढुंगा हाने या गोली हाने इगो राख्छ । अनि त्यस्ता मान्छेको घर नै भत्काउन सक्छ । किनकि हात्तीको स्मरण र सुँघ्नेशक्ति गज्जबकै हुन्छ । राँको बालेर जाँदा हात्तीले आक्रमण गर्दैन । तर रक्सी खाएर जान हुँदैन ।  

पछिल्ला वर्ष बढ्दै गएको हात्ती र मान्छेको मृत्यु कसरी रोक्न सकिन्छ ?
हात्ती निकुञ्ज या आरक्षभित्र मात्रै सीमित हुँदैन । किनकि यो भूपरिधि स्तरको जनावर हो । ठूलो क्षेत्रमा जाने, डुल्ने भएका कारण भूपरिधि स्तरमै संरक्षण व्यवथापन गर्ने प्रणाली बनाउनुपर्छ । वन क्षेत्रका साथीहरुलाई पनि सक्षम बनाउँदै लैजानुपर्छ । हात्तीको बानीव्यहोरा बुझ्ने, हात्ती भगाउने, उद्धार र डार्टसम्मको तालिम र ज्ञान वन क्षेत्रका साथीलाई पनि दिनुपर्छ । व्यक्तिले मात्रै होइन तीनै तहका सरकार र स्थानीय सबैले सहयोग गर्नुपर्छ । स्थानीयले पनि करेन्ट, गोली र भाला हानेर हात्ती भगाउनु हुँदैन । Elephants have matriarchy: Ashok Ram [Interview]

हात्तीका कारण मान्छे नमरुन् भन्नका लागि सबैभन्दा पहिले हात्ती हिँड्ने मार्गमा कुनकुन बस्ती छन्, त्यहाँ समस्या आउने हटस्पट कुन हुन् भन्ने पहिल्याउनुपर्छ । यसबारे सचेतना बढाउनुपर्छ । हात्ती हिँड्ने मार्गका बस्ती जोगाउन छेकबारका पूर्वाधार पनि बनाउन आवश्यक हुन्छ । हात्तीले गर्ने खेतीबालीको नोक्सानमा राज्यले उचित क्षतिपूर्ति दिनुपर्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully