राजनीतिक अभियानमा दलहरू

माओवादी तराई–मधेश जागरण यात्रामा, सत्तारूढ एमाले वडा तहसम्मै प्रदर्शन गर्दै, भर्खरै सयदिने अभियान चलाएको कांग्रेस थप कार्यक्रम तय गर्दै

चैत्र ९, २०८१

गंगा बीसी

Parties in political campaigns

काठमाडौँ — प्रमुख राजनीतिक दलहरूले राजनीतिक अभियानलाई तीव्र पारेका छन् । कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीले संघीय गणतन्त्र एवं संघीयताको सुदृढीकरण र संविधान रक्षाका लागि कार्यक्रम तय गरिरहेका छन् । राप्रपा भने राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै आन्दोलनमा छ ।

प्रमुख प्रतिपक्षी दल माओवादीले १२ फागुनमा झापाबाट सुरु गरेको ‘तराई मधेश जागरण अभियान’ शनिबार चितवन पुगेको छ । अभियान केही दिन स्थगन गरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल शीर्ष नेताहरूसहित काठमाडौं फर्केका छन् । उनीहरू समाजवादी मोर्चाको १५ चैतमा काठमाडौंमा हुने प्रदर्शनको तयारीका लागि काठमाडौं आएका हुन् ।

असोजदेखि सयदिने सांगठनिक अभियान चलाएको कांग्रेस पार्टीको क्षेत्रीय सम्मेलनमा जुटेको छ । त्यही सम्मेलनमार्फत नै संघीय लोकतन्त्रको पक्षमा वकालत गर्ने कांग्रेसको रणनीति छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले क्षेत्रीय सम्मेलनमा लोकतन्त्रका सबल पक्षबारे युवा पुस्तालाई प्रशिक्षित गरिरहेको जानकारी दिए । ‘पार्टी सम्मेलनमार्फत राजनीतिक र सांगठिक अभियान चलाइरहेका छौं,’ उनले भने, ‘आइतबार बस्ने कार्यसम्पादन समिति बैठकले थप कार्यक्रम तय गर्नेछ ।’

माओवादी उपाध्यक्ष पम्फा भुसाल जागरण अभियानका क्रममा स्थानीयले विकास, समाजिक न्याय, सुशासनका पक्षमा आवाज उठाउने गरेको बताइन् । माओवादीले स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा र स्थानीयको मागपत्र बुझेर कार्यक्रम बनाउने उनको भनाइ छ । ‘स्थानीयका ज्ञापनपत्र संश्लेषण गरी सरकारसमक्ष माग राख्छौं,’ उनले भनिन्, ‘माग पूरा गराउन सरकारलाई दबाब दिन्छौं ।’ भुसालले अभियानका क्रममा सरकारलाई खबरदारी गर्ने, प्रतिगमनविरुद्ध जनतामा जागरण ल्याउने, संगठन सुदृढीकरण गर्ने काम गरिरहेको जानकारी दिइन् ।

सरकारको नेतृत्व गरेको एमालेले ११ चैतदेखि लोकतान्त्रिक गणतन्त्रका पक्षमा सडक प्रदर्शन गर्ने तयारी गरेको छ । त्यो दिन एकै समय देशैभरि सबै वडामा कार्यक्रम हुने एमालेले जनाएको छ । राजावादीले आन्दोलनको तयारी गरिरहेका बेला एमाले केन्द्रीय सचिवालयले पनि प्रदर्शनको तयारी गरेको हो । ‘प्रतिपक्षी दलहरूसँग सम्बन्ध विस्तार गरी संघीय गणतन्त्रका पक्षमा र प्रतिगमनविरुद्ध भन्डाफोर गर्ने कार्यक्रम बनाएका छौं,’ एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने ।

एमालेले तीनमहिने वडा केन्द्रित अभियान पनि चलाइरहेको बेला एमालेले ३० चैतसम्म सबै प्रदेश र जिल्लामा संघीय गणतन्त्रको पक्षमा जनपरिचालन र जनचेतना कार्यक्रम गर्न निर्देशन दिएको छ । त्यसका लागि एमाले महासचिव शंकर पोखरेलले तल्ला समितिमा परिपत्र गरिसकेका छन् । १८ चैतमा सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा, २४–३० चैतमा धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने कार्यक्रम एमालेले तय गरेको छ । विशेष सभामा पार्टी केन्द्रका वक्ताले सम्बोधन गर्नेछन् । एमाले प्रवक्ता राजेन्द्र गौतमले सबै वडा र प्रमुख सहरमा प्रतिगमनविरुद्ध प्रदर्शन गर्दै संघीय गणतन्त्रका पक्षमा जनचेतना जगाउने तयारी रहेको बताए ।

एकीकृत समाजवादीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का लागि दुई चरणको आन्दोलन घोषणा गरेको छ । २–६ चैतमा मातहत कमिटीमा छलफल, ७–१५ चैतमा केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–संगठन तथा व्यक्तिसँग संवाद तथा सुझाव संकलन गर्ने एकीकृत समाजवादीको तयारी छ । यस्तै, २० चैतमा सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने, ५ वैशाखमा प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेस गर्ने एकीकृत समाजवादीले जनाएको छ । १५ वैशाखसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने, १९–२२ वैशाखमा पालिका र वडा कार्यालयमा ज्ञापनपत्र पेस गर्ने र २५ वैशाखमा दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने तयारीमा एकीकृत समाजवादी रहेको छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले आन्दोलनका क्रममा आम मानिसका सरोकारलाई स्थानीय, प्रदेश र संघ सरकारसमक्ष पुर्‍याउने बताए । ‘पार्टी निर्माणका लागि पनि हामीले आन्दोलनमा जाने निर्णय गरेका हौं,’ उनले भने ।

राजतन्त्रको पुनःस्थापना र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा आन्दोलन मूल समिति गठन गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले चैत र वैशाखमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने जानकारी दिए । आन्दोलनको नेतृत्व राप्रपा आफैंले गर्ने र समान विचार भएका व्यक्ति, समूह र दललाई एकताबद्ध गर्दै जाने उनले बताए ।

गंगा

Link copied successfully