अछाम — अछामको ढकारी गाउँपालिका–८ पल्साता गाउँकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका दुई किशोरलाई अछाम जिल्ला अदालतले डोटीमा रहेको बाल सुधार गृह पठाउने आदेश दिएको छ।
जिल्ला प्रहरी कार्यालय अछामले घटनाको सम्पूर्ण अनुसन्धान सकेर जिल्ला अदालतलाई प्रतिवेदन बुझाएको थियो। प्रहरीले गरेको अनुसन्धानका आधारमा अदालतले ती दुई किशोरलाई सुधार गृहमा पठाउन आदेश दिएको हो।
जिल्ला प्रहरी कार्यालयका निरीक्षक टेकबहादुर देउवाका अनुसार हत्यामा संलग्न दुवै किशोर १८ वर्षमुनिका भएकाले उनीहरूलाई सुधार गृहमा राखिएको हो । 'प्रहरी कार्यालयले सबै अनुसन्धान गरेर यो केसलाई अदालतमा बुझाइसकेको छ । अदालतले भने फैसला गरेको छैन ।अहिले साक्षीहरूलाई बोलाउने, बकपत्र गराउने प्रक्रिया चलिरहेको छ,' निरीक्षक देउवाले भने, 'नेपालको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई कारागार पठाउन मिल्दैन। उमेर पुगेपछि मात्रै कानुनी प्रक्रियाअनुसार कारागार चलान गरिन्छ।'
हत्या बीभत्स तरिकाले गरिएको निष्कर्ष
प्रहरी अनुसन्धान अनुसार १४ वर्षीया इशरा र १५ वर्षीया सरस्वती ती किशोरहरूसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। प्रहरीले घटनाको अनुसन्धान गर्दै शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेकै कारण बीभत्स तरिकाले हत्या गरिएको निष्कर्ष निकालेको छ।
अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार हत्या हुनु दुई दिनअघि इशरा र सरस्वतीको ती दुई किशोरहरूसँग छिन्ने जंगलमा भेट्ने योजना बनेको थिए। 'करिब एक वर्षदेखि ती किशोरीहरू र किशोरहरूबीच निरन्तर फोन सम्पर्क र भेटघाट भइरहेको थियो। माघी मनाउन गाउँ आएका ती किशोरहरू बाख्रा चराउन जंगल गएका प्रेमिकालाई भेट्न गएका थिए,' डीएसपी भण्डारीले बताए।
प्रहरी प्रमुख भण्डारीका अनुसार ती किशोरहरूले शारीरिक सम्बन्धको प्रस्ताव राखेका थिए। तर सरस्वतीले 'बिहे गर्ने हो भने मात्र सम्भव छ' भन्ने अडान लिइन्। किशोरहरूले उमेर कम भएको भन्दै '५–६ वर्षपछि बिहे गर्ने सर्तमा शारीरिक सम्बन्ध राखौँ' भनेका थिए।
तर सरस्वतीले त्यस प्रस्ताव अस्वीकार गरिन्। त्यसपछि उनी खोलातर्फ लाग्दा ती किशोरमध्ये एकले रिस उठाएर नजिकैको ढुंगा उठाई उनको टाउकोमा प्रहार गरे। 'ढुंगा प्रहार लगत्तै सरस्वती लडिन् र त्यहीँ उनको मृत्यु भएको अनुसन्धानका क्रममा खुल्यो,' डीएसपी भण्डारीले भने।
हत्या ढाकछोप गर्न ती किशोरहरूले घटनालाई प्राकृतिक मृत्युजस्तो देखाउन ढुंगा खसाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 'पहिलो प्रहारमै सरस्वतीको मृत्यु भइसकेको थियो, तर घटनालाई दुर्घटनाजस्तो देखाउन उनीहरूले माथिबाट ढुंगा खसाए,' भण्डारीले भने। घटनास्थलमा ठूल्ठूला ढुंगाहरू खसेको देखिएको छ।
इशराको पनि हत्या
सरस्वतीको मृत्यु भएपछि इशराले घटनाबारे 'तिमीहरूले मारेको कुरा म सबैलाई भनिदिन्छु' भन्दै रोईकराइ गर्न थालिन् ।
‘जे हुनु भइहाल्यो । यो कुरा कसैलाई नभन्नु भन्दै इशरालाई ती दुवै केटाहरूले फकाउन थाले । तर इशराले कसैलाई नभन्ने कुरा अस्वीकार गरिन् । रुँदै कराउँदै घरतर्फ जान खोजिन्,’ डीएसपी भण्डारीले बयान उद्धृत गर्दै भने, ‘इशरा घर जान थालेपछि सरस्वतीका प्रेमी भनिने ती युवकले हात समाती पछाडि धकेले र निधारमा लाग्ने गरी ढुंगाले हानेर लडाए । इशराका प्रेमी भनिने अर्का युवकले इशरा ढलेको अवस्थामा ढुंगाले अनुहारको भागमा हानेर मारेर घटनास्थल छोडेर भागेको देखिन्छ ।’
घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो। साथै, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय अछामको टोलीले संयुक्त रूपमा घटनाको अनुसन्धान गरेको थियो।
