सरकार परिवर्तन हुने भारतको आशय देखिनँ : परराष्ट्रमन्त्री राणा

'प्रधानमन्त्रीको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ । गएर त्यसै फोटो खिचाएर मात्र त भएन'

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

India has no intention of changing the government: Foreign Minister Rana

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतले नेपालको प्रजातान्त्रिक प्रणालीलाई नै समर्थन गरेको बताएकी छिन् । करिब २ साता लामो भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा भारतको गतिविधिबाटै उक्त कुरा स्पष्ट भएको परराष्ट्रमन्त्री राणाले बताएकी हुन् । 

'यहाँको पोलिटिकल गतिविधिका बारेमा हामीले खासै कुराकानीचाहिँ गरेनौँ । तर उहाँहरूको सपोर्ट यो डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने उहाँहरूको हरेक गतिविधिबाट हामीले त्यो कुरा बुझ्न जरुरी छ । अहिलेको गभर्मेन्टसँग एकदमै इन्गेज्ड  हुनुहुन्छ । उहाँको ट्रेड, पावर, फरेन मिनिस्ट्री... यो गभर्मेन्ट सिस्टम नै चेन्ज हुने भन्नेजस्तो उहाँहरूको आशय मैले देखिनँ,' उनले भनिन् । 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे गृहकार्य जारी रहेको पनि बताइन् । उनले भनिन्,  'प्रधानमन्त्रीको भारत भ्रमणबारे हामीले एजेन्डा तयार पारिरहेका छौँ । भेटेर फोटो मात्र खिचेर त हुँदैन । हामीले विभिन्न क्षेत्रमा सिरियसली काम गरिरहेका छौँ ।' 

भारत भ्रमणमा अनावश्यक समय खर्च भयो भन्नेबारे पनि टिकाटिप्पणी भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री राणाले भनिन्,  'चार दिन तीर्थ गएँ ,जानै गाह्रो रहेछ झारखण्ड । तीन दिन होलीको बिदा पर्‍यो ।' गत फागुन २५ गते परराष्ट्रमन्त्री राणा भारत गएकी थिइन् । रायसिना डायलगमा सहभागी भएकी उनले भारतीय समकक्षी जयशंकरसँगको भेटमा नेपाल र भारतबीचका द्विपक्षीय संयन्त्रलाई मजबुत बनाउने विषयमा छलफल गरेको बताइन् । 

कान्तिपुर

Link copied successfully