काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् । शुक्रबार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए ।
उनले अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काममा लागिरहेको आरोप लगाए।
अध्यक्ष दाहालले भने, ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ। उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै हो। राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने र नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो। त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ।’
उनले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने बताए । उनले लेखा समिति सभापतिलाई ठूला आरोप लागे पनि प्रधानमन्त्रीले चोख्याउन तागत लगाइहरेको आरोप बताए ।
उनले आफू २०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारे । उनले जनताको साथमा रहने प्रतिबद्धता जनाउँदै, सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा फरक व्यवहार नदेखाउने माओवादीको नीति रहेको बताए । साथै, आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको दाबी गरे ।
उनले माओवादी सरकारमा रहँदा भ्रष्टाचारविरुद्धको अभियान छेडिएको र आर्थिक विकासको गति बढाउने प्रयास गरिएको दाबी गरे ।
