महायज्ञ गर्न भन्दै दलितको घरमा डोजर लगाएर उठीबास

पालिकामा सरसफाइको काम गर्ने दलित दम्पतीका लागि ५ वर्षअघि प्रधानमन्त्री आवास कार्यक्रमअन्तर्गत घर बनेको थियो, तर दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर गाउँपालिकाले नै फाल्यो

चैत्र ७, २०८१

विनय आजाद

You used to wake up with a dozer in a Dalit's house asking to perform a great sacrifice

सिरहा — आफ्नै टोलछिमेकमा महायज्ञ लाग्ने भएपछि सिरहाको औरही–५ का दलित दीपक मलिक डोम पनि खुसी थिए । तर उनको यो खुसी धेरै दिन टिक्न पाएन । महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै आयोजक बजरंगी बाबाले दीपकको घर भत्काउन आदेश दिए, तुरुन्तै गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाए । दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको छ ।

औरहीस्थित हुलाकी सडकछेउमा चैत १७ देखि हुन लागेको ‘विष्णु महायज्ञ’ का लागि पूजास्थलनजिकै रहेको दलित परिवार अहिले विस्थापित भएको छ । आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष दिलीप यादव नेतृत्वको समूहले दलित परिवारलाई उठीबास लगाएर मानवबस्तीभन्दा पर एकान्तमा टहरो बनाइदिएको छ ।

गाउँपालिकाका अध्यक्षकै नेतृत्वमा जातीय विभेदपूर्ण व्यवहार गरी गैरकानुनी हर्कत र अन्याय भइरहँदासमेत गाउँमा रहेको चौकीका प्रहरी र स्थानीय अगुवाले मौन स्वीकृति जनाएका छन् । औरही गाउँपालिकामा सरसफाइको काम गर्ने दीपक मलिक डोम र अनिता मलिक डोमले जागिरबाट निकालिने डरले उजुरीसमेत गर्न सकेका छैनन् । अछुत भन्दै डोम समुदायका दीपक र अनितासहित ७ जनाको परिवारलाई महायज्ञ हुने स्थानबाट करिब ५ सय मिटर पर एकान्त स्थानमा बाँसको अस्थायी घर बनाएर सारिदिएका छन् ।

३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा ५ वर्षअघि केन्द्र सरकारको बजेटमा दुईकोठे पक्की घर बनाइदिएको थियो । तर गत फागुन १० मा गाउँपालिकाकै डोजर लगाएर घर भत्काइएको हो । यतिसम्म कि, अछुत बस्दै आएको भन्दै उनीहरूको घर भएको स्थानको माटोसमेत खनेर फालिएको छ ।

डोम परिवारलाई अहिले गाउँकै एकान्तमा रहेको करिब २ धुर जग्गामा बाँसको टाटी र माथि जस्ता हालेर दुईकोठे फुसको घर बनाइदिइएको छ । बजरंगी बाबाले भनेबमोजिम गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव आफैं आएर यहाँ महायज्ञ गर्नुपर्ने भन्दै घर भत्काइदिएको अनिताले सुनाइन् । 

You used to wake up with a dozer in a Dalit's house asking to perform a great sacrificeपहेँलो वस्त्रमा गाउँपालिका अध्यक्ष शिवजी यादव र स्थानीयहरू । तस्बिर : विनय आजाद/कान्तिपुर

उनीहरूलाई सारिएको ठाउँमा खानेपानीसमेत छैन । बिजुली पनि जडान नगरिएकाले टुकी बाल्न बाध्य छन् । ‘हामी हाम्रो घरमा हाँसीखुसी बस्दै आएका थियौं,’ भक्कानिँदै अनिताले सुनाइन्, ‘तर, अहिले एकान्त सुनसान ठाउँमा बसाइएको छ, त्यहाँ आफ्नै चापाकल थियो, यहाँ पानीसमेत छैन ।’ आफूहरू कमजोर भएकाले बोल्न नसकेको र दलित भएकै कारण अपमान सहनुपरेको छोरा अर्जॅनले दुःखेसो गरेका छन् ।

‘त्यहीँ रहेका अन्य जातिको घर भत्काइएन, हाम्रो मात्र घरले महायज्ञमा के अप्ठ्यारो पार्थ्यो ?’ उनले सुनाए, ‘डोम भएकै कारण हाम्रो घरमा डोजर चल्यो, छुवाछुत गर्न खोजिएको कुरा हाम्रो घर भएको ठाउँको माटो हटाइनुले पनि पुष्टि गर्छ ।’ उनका अनुसार, बुवा दीपक र आमा अनिता गाउँपालिकामै सफाइकर्मीका रूपमा काम गर्छन् । यसको विरुद्धमा बोल्दा कामबाट निकालिदिने हो कि भन्ने डरले केही पनि बोल्न नसकेको अर्जुनले सुनाए ।

गाउँपालिका अध्यक्ष यादवले घर भत्काएको स्विकारे पनि अछुत भएकै कारण त्यसो भने नगरिएको बताए । ‘उनीहरूको घर भएको ठाउँमा कृषि बजार लगाउने योजनामा गाउँपालिका छ,’ उनी भन्छन्, ‘हामीले राम्रै गर्न खोजेका छौं, यसमा धेरै विवाद गर्न आवश्यक छैन ।’

You used to wake up with a dozer in a Dalit's house asking to perform a great sacrificeघर भत्काइएपछि उनीहरूका लागि करिब ५ सय मिटर पर एकान्तमा बनाइएको बाँसको टहरा । तस्बिर : विनय आजाद/कान्तिपुर 

पूर्ववडाध्यक्ष दिलीपले मरिक परिवारलाई अर्को घर बनाइदिएकाले त्यहाँबाट हटाउनु गलत नभएको दाबी गरे । औरही गाउँपालिकामै घर भएका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कवुली पासवानले डोम भएकै कारण उनीहरूसँग छुवाछुत गरिएको भन्दै यसमा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully