२५ करोड अवैध विदेशी मुद्राको मालिक को ?

चैत्र ७, २०८१

ऋषिराम पौड्याल

Who is the owner of 25 million illegal foreign currency?

काठमाडौँ — रसुवा हुँदै चीन जान लागेको ट्रकमा सोमबार राति बरामद २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राबारे थप अनुसन्धानको जिम्मा प्रहरीले राजस्व अनुसन्धान विभागलाई दिएको छ । विभागले उच्च अदालत पाटनबाट म्याद लिएर विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को कसुरमा अनुसन्धान अघि बढाएको छ । तर बरामद विदेशी मुद्रा कस्को भन्ने खुलासा हुने हो/होइन भन्नेमा चासो बढेको छ ।

यसअघि पनि यस्तै प्रकृतिका घटनामा विभागले ‘मालिक’ पत्ता नलगाई अनुसन्धान टुंग्याएकाले पनि यस्तो चासो र प्रश्न उठेको हो । 

गत पुसकै घटनामा पनि विभागले सम्बन्धित व्यक्ति पत्ता लगाउन सकेको छैन । पुसमा इमाडोलको एउटा गोदामबाट ८६ हजार थान भेप बरामद भएको थियो । त्यसक्रममा गोदाम कुरेर बसेका दुई जनालाई पक्राउ गरिएको थियो । तर उक्त गोदाम र भेपका मालिक को थिए भनेर विभागले पत्ता लगाउन सकेन । शेर्पा थर गरेका व्यक्तिले राजस्व अनुसन्धान विभागमा २५ करोड धरौटी राखेपछि गत फागुनमा गोदाम कुर्ने दुई जना छुटेका थिए । 

पुसमै राजस्व छलेर नेपाल ल्याइएका १ लाख २० हजार थान भेप उत्तरी नाकाबाट र मधेश लैजाने क्रममा तराईबाट बरामद भएका थिए । यी घटनामा पनि मुख्य व्यक्तिको पहिचान हुन सकेको छैन ।  

‘भेपको घटनाजस्तै यो घटनामा पनि मालिक पत्ता लगाउन सजिलो देखिन्न,’ विभागकै एक अनुसन्धान अधिकृत भन्छन्, ‘तातोपानी र केरुङबाट तस्करीको सुन बोकेर आउँदा पक्राउ पर्नेमध्ये सबैजसो भरिया वा बिचौलिया मात्र छन्, नेपालीलाई प्रयोग गरेर चिनियाँले गर्ने अधिकांश अवैध धन्दामा यस्तै शैली देखिन्छ ।’

 अवैध रकम बरामद घटनामा ट्रकका चालक ‘फुच्चे’ भनिने कुसाङ लामा मात्र पक्राउ परेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार कुसाङको मोबाइलमा भएका विवरणबाट पनि ‘मालिक’ भेट्ने कुनै ‘क्लु’ फेला परेको छैन । 

विभागका एक अधिकृत यो घटनामा केही गम्भीर प्रश्न उब्जिएको बताउँछन् । यतिका धेरै रकम कुन वस्तु वा सेवा कारोबारबापत भुक्तानी गर्न खोजिएको हो ? एकै पटक यति ठूलो परिमाणको रकम बरामद हुनुले यसअघि पनि मुलुकबाट विदेशी मुद्रा यसरी नै विदेशिने गरेको थियो कि ? भन्नेजस्ता सवाल उठेको उनको भनाइ छ ।

‘अवैध विदेशी मुद्राको मालिक नभेटिएसम्म विस्तृत तथ्य पत्ता लगाउन सजिलो छैन,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे भन्छन्, ‘कुनै न कुनै वस्तुको भुक्तानी दिनकै लागि यति ठूलो रकम केरुङ हुँदै चीन पठाउन खोजिएको भने पक्कै हो ।’

ठूलो परिणामको रकम भएकाले विभागका अधिकारीले अवैध सुन ओसारपसारकै घटना जोडिन सक्ने अनुमान गर्छन् । पक्राउ परेका भोटेकोशी गाउँपालिका–१ का कुसाङ यसअघि पनि सुन तस्करीमै समातिएर छुटेकाले पनि अनुसन्धानमा संलग्न अधिकारीले यस्तो शंका गरेका हुन् । रकमसहित नियन्त्रणमा लिइएको ना ७ ख १६५२ नम्बरको कन्टेनर लामाकै आमाको नाममा रहेको छ । तीन सातासम्म ग्यारेजमा राखेर रकम लुकाउनकै लागि कन्टेनरमा ‘फल्स बटम’ बनाउँदा पनि कुसाङले थाहा नपाउने भन्ने हुनै नसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरूको भनाइ छ ।

चीनसँगको व्यापारिक नाका रसुवा भन्सार प्रमुख तुलसीप्रसाद भट्टराई आफ्नो कार्यकालमा तीन पटक सुन बरामद गरेको तर तीन वटै घटनामा ‘मालिक’ पत्ता नलागेको बताउँछन् । ‘सुन ल्याउने कसैले पनि सत्य कुरा गर्दैनन्, जति फकाउन खोजे पनि बरु मेरै हो भन्छन् मालिक बताउँदैनन्,’ उनी भन्छन् । सुन वा भेप चोरी पैठारीको रकम भुक्तानीका लागि उक्त रकम चीन लैजान खोजेको अनुमान भट्टराईको छ ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully