काठमाडौँ — प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद २०२५’ का लागि कुनै पनि स्रोत र साधनको कमी हुन नदिने बताएका छन् ।
बिहीबार सगरमाथा संवाद कार्यक्रमको निर्देशक समितिको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले संवादलाई सफल बनाउन गुणस्तरमा कुनै पनि सम्झौता नगर्न निर्देशन दिएको वन तथा वातावरण मन्त्रालयका सहसचिव एंव सगरमाथा संवादको सचिवस्तरीय कमिटिको सदस्य–सचिव महेश्वर ढकालले जानकारी दिए ।
‘हामीले प्रधानमन्त्रीलाई अहिलेसम्म भएको प्रगतिबारे जानकारी गरायौं,’ उनले भने, ‘अहिलेसम्म कसकसलाई निमन्त्रणा गर्यौं, कोकोसँग छलफल गर्यौं र सरोकारवाला निकायसँग केके छलफल भए भनेर जानकारी गरायौं ।’
प्रदेशमा पनि सगरमाथा संवादबारे छलफल गर्न टिम परिचालन गरिएको र बागमती प्रदेशमा छलफल भएको समेत उनले बताए ।
‘अब अझै ५६ दिन बाँकी छ । अहिलेसम्म हाम्रो निमन्त्रणा स्वीकार गर्ने र सूचना माग्ने काम गरिरहेका छौं,’ उनले भने, ‘संवाद सुरु हुनुभन्दा दुई साता अगाडि संवादमा बोल्ने वक्ता र सहभागीको पत्रकार सम्मेलन गरेर घोषणा गर्छौं ।’
