काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले जलनपीडितहरूको उपचार र पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले जलन पीडित र जलनका घाइतेहरूको उपचार र क्षतिपूर्तिका सन्दर्भमा आफू व्यक्तिगत रूपमा गम्भीर रहेको जनाए । उनले तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐनले पर्याप्त व्यवस्था गरेको उल्लेख गर्दै उक्त विधेयकको छलफलका क्रममा सरकारले आधिकारिक धारणा राख्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, 'जलनपीडित र जलनका घाइतेहरूको सन्दर्भमा अथवा क्षतिपूर्तिको सन्दर्भमा म गम्भीर छु। जलन पीडित र पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील छ। तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐन, २०७९ ले यस सम्बन्धमा पर्याप्त व्यवस्था गरेको जानकारी दिन चाहन्छु। जलनपीडितहरूको उपचार र पुनःस्थापनाका सन्दर्भमा सदनमा दर्ता भएको निजी विधेयकको छलफलका क्रममा सरकारले आफ्नो धारणा विस्तृत रूपमा राख्नेछ।'
उनले जलन अस्पतालहरूको विस्तार र स्तरोन्नति गर्नका लागि समेत सरकार काम गरिरहेको जानकारी दिए ।
