विद्युत प्राधिकरणलाई ध्वस्त पार्ने षड्यन्त्रमा लागेका ऊर्जामन्त्रीलाई बर्खास्त गरियोस् : सांसद बस्नेत

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

The Energy Minister who is involved in the conspiracy to destroy the Electricity Authority should be dismissed: MP Basnet

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई बर्खास्त गर्न सांसदले माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा माओवादी सांसद ज्ञानु बस्नेतले नेपाल विद्युत प्राधिकरणलाई ध्वस्त पार्ने षड्यन्त्रमा मन्त्री खड्का लागेकाले बर्खास्त गर्नुपर्ने माग गरिन् ।

सांसद बस्नेतले भनिन्, 'नाफामा गइरहेको प्राधिकरणलाई कमजोर बनाउन ऊर्जामन्त्री लाग्नु सही होइन। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ छैन र भविष्यमा पनि हुँदैन भनेका बेला मन्त्रीले लोडसेडिङ हुने भन्ने कुरा गरेर जनतालाई आतंकित पार्दै दलाल र बिचौलियालाई पोस्ने काम गरिरहेका छन्। यसरी प्राधिकरणलाई ध्वस्त बनाउने षड्यन्त्रमा मन्त्री खड्का संलग्न देखिन्छन्।'

सांसद बस्नेतले ऊर्जामन्त्री खड्काले दिएको अब लोडसेडिङ हुने भन्ने अभिव्यक्तिप्रति पनि आपत्ति जनाइन्। उनले भनिन्, 'ऊर्जामन्त्री दीपक खड्काले अब नेपालमा लोडसेडिङ हुने र विगतमा लोडसेडिङ नभएको छिमेकी देशको कारणले भएको भन्ने अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछु।'

ऊर्जामन्त्री खड्काले पदीय मर्यादा विपरीत काम गरिरहेको भन्दै सांसद बस्नेतले उहाँलाई बर्खास्त गर्न माग गरिन्।

कान्तिपुर

Link copied successfully