बारा — माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी अब कसैको बैसाखी नटेक्ने बताएका छन् । कहिले कांग्रेस त कहिले एमालेसित गठबन्धन गरेर पार्टीलाई घाटा लागेको निष्कर्षले माओवादी फेरि जनताको घरदैलोमा आएको उनले बताए ।
पूर्व–पश्चिम हुलाकीमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा बाराको कलैयामा बिहीबार आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘गठबन्धन गर्दा एमाले/कांग्रेसलाई फाइदा भयो । माओवादीलाई घाटा भयो,’ उनले भने, ‘स्ववियुको चुनाव परिणामले आफ्नै खुट्टामा उभिन सन्देश दिएको छ । हामी एक्लैले जित्न सक्छौं ।’
उनले थपे, ‘एमाले/कांग्रेसले अरुको बैसाखी नटेकी माओवादी उठ्नै सक्दैन भनेर भाष्य बनाएको थियो । तर स्ववियु चुनावले पनि माओवादी यथास्थिति र प्रतिगमनको पक्षमा छैन, अग्रगमन र प्रगतिको पक्षमा छन् भन्ने देखायो ।’
मोरङको महेन्द्र क्याम्पसको चुनावले २० औं वर्षको इतिहासलाई तोड्दै माओवादी एक्लैले विजयको झन्डा गाडेको पुष्टि गरेको उनले बताए । चैत ७ को गौर नरसंहारलाई सम्झिँदै उनले भने, ‘गौर भयानक हत्याकाण्ड मञ्चन गरिएको थियो । पाशविक हत्याकाण्ड थियो ।’
अभियानको क्रममा जिल्लाका विभिन्न सहिद परिवारसित भेटघाट, व्यापारी, उद्योगी, व्यवसायी किसान, मजदुरसित अन्तरक्रिया र भेटघाट गरे ।
यसैबीच उनले सिम्रौनगढ र कलैयावासीलाई भेट्दै त्यहाँबाट उठेको प्रश्नको जवाफमा उनले भने, ‘ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको सिम्रौनगढ दरबारलाई विश्व सम्पदा सूचीमा राख्न र सिम्रौनगढ/मटिअर्वा छोटी भन्सारको स्तरोन्नतिको लागि संसद्देखि सडकसम्म आवाज उठाउने छौं ।’
