२५ करोड लुकाउने ‘फल्स बटम’ बनाउन तीन साता ग्यारेजमा राखिएको थियो ट्रक

सुन तस्करीका लागि चीनतर्फ पैसा लगिँदै गरेको आशंका

चैत्र ६, २०८१

विवेक पोख्रेल

The truck was kept in the garage for three weeks to make the ``false bottom'' that hides 25 crores

काठमाडौँ — कपडा किन्न भन्दै चीन हिँडेको ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा (अमेरिकी डलर र युरो) बरामद भएको छ । उक्त विदेशी मुद्रासहित गाडीधनीसमेत रहेका चालक ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका छन् । उक्त रकमबारे विस्तृत खुलासा नभए पनि सुन ल्याउन चिनियाँ नाकातर्फ पैसा लगिँदै गरेको विश्लेषण प्रहरीको छ ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ निवासी कुसाङ परिवारसहित काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा डेरा बस्दै आएका छन् । उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकलाई सोमबार राति ११ बजे टोखा नगरपालिका–२ झोरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । अवैध युरो तथा डलर रसुवागढी नाका हुँदै चीन लगिँदै छ भन्ने सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । 

‘सूचनाका आधारमा ट्रकलाई कार्यालयमा ल्याएर खानतलासी गर्‍यौं,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेत भन्छन्, ‘चालक बस्ने क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई भित्रपट्टि लुकाएर राखिएको अवस्थामा अमेरिकी र युरो मुद्रा बरामद गरेका हौं ।’ पक्राउ गरेर सोधपुछ गर्दा लामा आफैंले पैसा लुकाएको ठाउँ देखाएको बस्नेतले बताए । 

ट्रक झन्डै तीन साता ग्यारेजमा राखेर निकालिएको दिनमै प्रहरीले पक्राउ गरेको थियो । आचार्यका अनुसार रसुवा जाने गाडी प्रायः साताको दुई पटक ओहोरदोहोर गर्छन् । ‘लामाले चलाएको गाडी भने योजना नै बनाएर ग्यारेजमा राखेको र पैसा लुकाउने ठाउँ बनाइएको हुन सक्छ,’ आचार्यको भनाइ छ । प्रहरीले एकै पटक भेटेको यो अहिलेसम्मकै धेरै रकम भएको समेत दाबी गरेको छ । 

प्रहरीका अनुसार ‘सोनी ट्रान्सपोर्ट’ लेखिएको खाली ट्रक लामाले रसुवागढीसम्म चलाउने र त्यसपछि अर्का चालकले सीमापार गराउने चाँजोपाँजो मिलाइएको थियो ।

The truck was kept in the garage for three weeks to make the ``false bottom'' that hides 25 crores

प्रहरीसँग लामाले आफू फेन्सी कपडा खरिद गर्न जान लागेको बताएका छन् । ‘तर कपडा लिन नभई सीमापार गरेर अवैध रकम चीन पुर्‍याई उताबाट सुन खरिद गरेर ल्याउन खोजिएको देखिन्छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी उपरीक्षक काजीकुमार आचार्य भन्छन् ।

पक्राउ परेका ४३ वर्षीय लामा यसअघि पनि राजस्व छली र सुन तस्करीमा ५ वर्ष जेल परेका व्यक्ति हुन् । उनी ७ केजी सुन तस्करीमा २०७३ पुस १३ मा गाडीसहित काठमाडौं आउँदै गर्दा गल्छीमा समातिएका 

थिए । त्यतिबेला उनी भरियाका रूपमा काम गरेको अभियोग लागे पनि सुन तस्करीका मुख्य मान्छेसम्म प्रहरी पुग्न सकेको थिएन । जेलबाट छुटेपछि लामा निरन्तर सुन तस्करीमा भरिया र चालकका रूपमा काम गरिरहेको अनुमान प्रहरीको छ । प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ । 

The truck was kept in the garage for three weeks to make the ``false bottom'' that hides 25 crores

‘नेपालमा पनि विदेशी पैसाको कारोबार हुन्छ, मनी एक्स्चेन्ज छन्, यो पैसा नेपालबाटै संकलन गरेर लगेको हुन सक्छ,’ उनी भन्छन् । प्रहरीले लामाका साथबाट दुई थान मोबाइल पनि बरामद गरेको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे ठूलो परिमाणमा पैठारी र चोरी हुने गरेको तथ्यलाई यो घटनाले इंगित गरेको बताउँछन् ।

महिनामा ६२ लाख अवैध विदेशी मुद्रा बरामद 

नेपालमा हरेक महिना औसतमा ६२ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद हुने गरेको छ । प्रहरीले यो आर्थिक वर्षको फागुनसम्म विभिन्न ठाउँबाट ५ करोडभन्दा बढी अवैध विदेशी मुद्रा बरामद गरेको छ । 

आर्थिक वर्षको फागुनसम्म ९७ हजार १ सय ५७ अमेरिकन डलर, ८७ हजार ५० युरो, ७ हजार २ सय स्विस फ्र्यांक, ४६ हजार २ सय क्यानेडियन डलर, २ सय ४९ सिंगापुर डलर बरामद गरेको छ । यस्तै, ४० लाख ३५ हजार जापानी येन, ५७ हजार साउदी रियाल, ४० हजार ५ सय २० थाई भाट, १ सय मलेसियन रिंगेट र ७१ लाख ७ हजार ३४० भारु मुद्रा प्रहरीले बरामद गरेको छ । सबै बरामद मुद्राको नेपाली रुपैयाँ ५ करोड ३७ लाख ५२ हजार ६ सय १५ हुन्छ । यो अवैध मुद्रा कारोबारमा नेपाली २५ र २२ विदेशी नागरिक पक्राउ परेका छन् ।

पछिल्ला ६ वर्ष २०७५/७६ देखि २०८०/८१ सम्म स्रोत नखुलेको नेपाली र विदेशी गरेर ३४ करोड २७ लाख ५१ हजार ५ सय ८१ रुपैयाँ बरामद भएको छ । प्रहरीका अनुसार २०७५/७६ मा १ करोड ५९ लाख १० हजार ९ सय ५९ रुपैयाँ, २०७६/७ मा ८९ लाख ५ सय, २०७७/७८ मा ७ करोड २९ लाख २७ हजार ८ सय ५०, २०७८/७९ मा ११ करोड ५४ लाख ४४ हजार ६ सय २४, २०७९/८० मा ५ करोड ५३ लाख ८७ हजार ६ सय ८ रुपैयाँ र २०८०/८१ मा ७ करोड ४१ लाख ८० हजार ४० रुपैयाँ बरामद भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार यसरी नियन्त्रण भएको रकम भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालयमा पुग्छ । ‘स्रोत नखुलेको रकममा अनुसन्धान पूरा भएपछि कानुनअनुसार सरकारको राजस्वमा दाखिला हुन्छ । तर स्रोत नखुलेको रकम चोरी, ठगी वा अन्य केहीबाट आएको हो भने त्यस विषयमा समेत अनुसन्धान गरेर मुद्दा चल्ने गरेको छ,’ आचार्य भन्छन् । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल स्रोत नखुलेको पैसाको परिमाण बढ्दा यसले प्रत्यक्ष रूपमा देशकै अर्थतन्त्रमा असर पर्ने बताउँछन् । उनका अनुसार बैंकिङ कारोबारसँगै देशको राजस्वमा समेत असर पुर्‍याउने गरेको छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully