मुलुक कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्छ : अध्यक्ष दाहाल

'जनताबाट चुनिएको राष्ट्रपति हुनुपर्छ । र, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिले मन्त्रिमण्डल गठन गर्दा सम्बन्धित विज्ञहरूलाई छनोट गरी गठन गर्नेछन् । तब मात्र देशको विकास हुन्छ ।'

चैत्र ६, २०८१

लक्ष्मी साह

The country should go to executive presidential system: President Dahal

बारा — माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् ।  पूर्व-पश्चिम हुलाकी मार्गकेन्द्रित 'जनतासँग माओवादी तराई-मधेश जागरण अभियान'का क्रममा स्थल मार्ग हुँदै बुधबार बाराको सिमरा आइपुगेका उनले यस्तो बताएका हुन् । 

कार्यकारी राष्ट्रपति माओवादीको सुरुकै एजेन्डा भएकाले अब मुलुक त्यतै जानुपर्ने अध्यक्ष दाहालले बताए ।सिमरामा गरिएको स्वागत सभालाई सम्बोधन गर्दै दाहालले भने, 'जनताबाट चुनिएको राष्ट्रपति हुनुपर्छ । र, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिले मन्त्रिमण्डल गठन गर्दा सम्बन्धित विज्ञहरूलाई छनोट गरी गठन गर्ने छन् । तब मात्र देशको विकास हुन्छ ।'

गत फागुन १२ गतेदेखि झापाबाट सुरू भएको अभियान १३ औं दिनमा मधेश प्रदेशको रौतहट पुगेर फागुन २४ गते स्थगित भएको थियो । मधेश प्रदेशका ८ जिल्लामध्ये बारा र पर्सामा मात्र अभियान बाँकी थियो ।

बिहीबार बिहानदेखि बाराको सिम्रौनगढबाट उद्योगी, व्यवसायी, किसान, व्यापारी, सर्वसाधारण, समाजिक अगुवासहित सम्मलित गराउँदै छलफल कार्यक्रम गर्ने कार्यक्रम छ ।  त्यसपछि कचोर्वामा सहिद लालु यादवको परिवार भेट्दै र स्वर्गीय वामपन्थी पुराना नेता कचोर्वा निवासी हरिहर यादवको कचोर्वास्थित सालिकमा माल्यार्पण गर्ने र हरनहियामा सहिद परिवार भेट्ने कार्यक्रम रहेको माओवादी बाराका पूर्व इन्चार्ज हरि चौलागाईंले बताए । अभियानको स्वरूप थोरै परिवर्तन गरिएको उनले बताए । 

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully