काठमाडौँ — मध्यवर्ती क्षेत्रको पुनः सीमांकन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकले मध्यवर्ती क्षेत्रको पुनः सीमांकन गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति विमला सुवेदीले जानकारी दिइन् ।
मध्यवर्ती क्षेत्रमा मानिस, वन्यजन्तु र वनका कर्मचारीबीच हुने संघर्ष र मध्यवर्ती क्षेत्रको पुनः सीमांकन गर्नुपर्ने विषयमा समितिमा छलफल भएको थियो । मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने जनताको मानवअधिकारको विषय ख्याल राख्नुपर्ने सभापति सुवेदीको भनाइ थियो ।
समितिका तर्फबाट निर्देशन दिँदै सभापति सुवेदीले भनिन्, 'मध्यवर्ती क्षेत्रमा मानिस, वन्यजन्तु र वनका कर्मचारीबीच हुने संघर्ष र मध्यवर्ती क्षेत्रको पुनः सीमाङ्कन गर्न तथा मध्यर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानवअधिकारको विषयलाई समेत थप व्यवस्थित गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिन्छु ।’
समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि पनि छलफल भएको थियो ।
