२५ करोड अवैध विदेशी मुद्राको मालिक को हो ?
काठमाडौँ — २५ करोड अवैध विदेशी मुद्रासहित काठमाडौंबाट पक्राउ परेका ‘फुच्चे’ भनिने कुसाङ लामा यसअघि अवैध सुन तस्करीको मुद्दामा धरौटी बुझाउन नसकेर थप चार वर्ष जेल बसेका थिए । २०७३ पुस १३ मा बा ८ च ७४२० नं.को टोयोटा हाएलक्स गाडीको एयर फिल्टरभित्र ७ केजी सुनसहित उनी पक्राउ परेका थिए ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तेजेन्द्र शर्मा सापकोटाको इजलासले ०७४ असार २६ गते ३ करोड १६ लाख २६ हजार रुपैयाँ जरिवाना र एक वर्ष कैदको फैसला सुनाएको थियो । तोकेको जरिवाना तिर्न नसेपछि उनले पाँच वर्ष जेल बस्नु परेको थियो ।
लामाले सो समयमा अदालतमा दिएको बयानमा सुन भेटिएको गाडी आफूले १५ दिनअघि मात्र चलाउन सुरु गरेको बताएका थिए । उनले अदालती बयानमा भनेका थिए, ‘गाडी इन्द्रलाल श्रेष्ठको हो । निज साहुलाई मासिक ७० हजार भाडा दिने गरी चलाएको हुँ । बरामद सुन चाइनाबाट केरुङ्गसम्म भोटेले ल्याई मलाई काठमाडौं लगी दिनु भनी पठाएको थियो ।’
लामाले अदालतमा रसुवाको नाम थर थाहा नभएको र चाइना जान पाउने ड्राइभरले ल्याएको बताएका थिए । उनले बयानमा भनेका थिए, ‘टिमुरेबाट सो सुन निकाली मैले चलाएको बा ८ च ७४२० नं.को गाडीमा राखी काठमाडौं लिएर आएको थिएँ ।’
अदालती बयानमा उक्त सुन काठमाडौं स्वयम्भूमा निजले फोन गरेपछि दिने कुरा भएकोसँगै सुन ल्याएबापत एक लाख २० हजार रुपैयाँ पाउने कुरासमेत बताएका थिए । बयानमा नै लामाले भनेका थिए ‘उक्त सुन मेरो होइन । सो सुन खरीदको कुनै प्रमाण छैन । म भरिया मात्र हुँ ।’ तर अदालतले भने गाडीसँगै लामाबाट ७ केजी सुन बरामद भएको तर सुन कसको हो भन्ने खुलाउन नसकेका कारण उसलाई दोषी ठहर गरेको थियो । सापकोटाको फैसलामा भोटेले दिएको सामान निजको गाडीको एयर फिल्टरमा लुकाई ओसारपसार गरेको देखिन आएको अवस्थामा सो कसैको नजर नपर्ने स्थानमा सो सामान गाडीको एअर फिल्टरमा राख्नुपर्ने उपयुक्त आधार पनि प्रतिवादीले खुलाउन नसेकेको उल्लेख छ । फैसालमा सामान ल्याएबापत १ लाखभन्दा बढी रकम पाउने भन्ने तथ्यले पनि निजले सुन हो भन्ने कुरा थाहा नपाईं ल्याएको होला भन्ने नसकिने भन्दै दोषी ठहर गरेको थियो । लामालाई भन्सार ऐन २०६४ को दफा ५७(१) (ङ) अनुसार बिगोबमोजिम सजाय तोकिएको थियो ।
जेलबाट छुटेपछि लामा निरन्तर सुन तस्करीमा भरिया र चालकका रूपमा काम गरिरहेको अनुमान प्रहरीको छ । पछिल्लो प्रकरणमा पनि प्रहरीले उनको यही विगतका कारण बरामद भएको पैसा चिनियाँ मानिसकै हुन सक्ने आशंका गरिरहेको छ ।
सिन्धुपाल्चोक भोटेकोशी गाउापालिका–१ निवासी लामा परिवारसहित काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा डेरा बस्दै आएका थिए । प्रहरीसँग उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रक भाइले किन्दिएको बताए पनि त्यसको पुष्टि भइसकेको छैन ।
‘राति ट्रकलाई नियन्त्रणमा लिएपछि पैसाको विषय खुल्यो’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी उपरीक्षक काजीकुमार आचार्यले भने, ‘दिनभरि पैसा गन्ने नै समय खर्च भयो । सोही दिन राजस्व अनुसन्धान विभागमा बुझायौं । थप अनुसन्धान जारी नै छ ।’
