दिउँसो साढे १२ बजेतिर सल्किएको आगो हावाहुरीका कारण टोलभरि फैलिएको थियो
विराटनगर — मोरङ धनपालथान–६ कदमाहामा मंगलबार आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । आगोले जलेर ११ घर ध्वस्त भएका छन्, १६ घरमा आंशिक क्षति पुगेको छ । स्थानीयका अनुसार दिउँसो साढे १२ बजेतिर अचानक सल्किएको आगो हावाहुरीका कारण टोलभरि फैलिएको थियो ।
हनिफ मियाँ र अस्मिना खातुनकी ३ वर्षकी छोरी रेश्माको आगलागीले ज्यान लिएको छ । घरमा आगो सल्किएपछि अस्मिना ३ वर्षीया छोरीलाई च्यापेर घरबाहिर निस्किएकी थिइन् । पछि छोरीलाई बाहिर छाडेर पैसा झिक्न उनी घरभित्र छिरेकी थिइन् । आमा पछ्याउँदै घरभित्र आएकी छोरी आगोमा परेकी थिइन् । बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हासिम मियाँ, इस्ताक मियाँ, इसाद मियाँ, मुस्ताक मियाँ, कुर्सिद मियाँ, अन्सारुल मियाँ, हनिफ मियाँ, सलमान मियाँ, रजाक मियाँ, चन्दन पुरी र देवनारायण पुरीको घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
‘घरभित्रबाट धागोको त्यान्द्रो पनि झिक्न भ्याइएन,’ मुस्ताक मियाँले भने, ‘जसोतसो ज्यान बचाइयो ।’ धनपालथान गाउँपालिकाकी उपाध्यक्ष नसिमा बानोका अनुसार स्थानीय बासिन्दा, दमकल र प्रहरीको प्रयासमा करिब एक घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।
घटनालगत्तै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख नारायणप्रसाद चिमरियासहितको टोली कदमाहा पुगेको थियो । आगलागी भएको क्षेत्र विराटनगरबाट करिब १५ किलोमिटर पूर्वदक्षिणमा पर्छ । विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले अनुमान गरेको छ ।
पीडितको उद्धार र राहत वितरणमा पालिका र स्थानीय प्रशासनले पहल सुरु गरेका छन् । पालिका उपाध्यक्ष बानोका अनुसार पीडितलाई स्थानीय मदरसा या छात्रावासमा राख्ने योजना बनाएको थियो तर उनीहरू घर जलेकै क्षेत्रमा पाल टाँगेर बसेका छन् । ‘उनीहरूलाई त्यहीअनुसार बस्ने व्यवस्थापनमा पालिका लागेको छ,’ बानोले भनिन् ।
उदयपुरमा तीन घर जले
चौदण्डीगढी नगरपालिका–७ बेलटार बजारस्थित कल्याण चोकमा मंगलबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । स्थानीय शरण राईको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा छिमेकी सर्वधन राई र कालुमान राईलगायतको घर जलेको हो । अन्य चार घरमा पनि आगोले क्षति पुगेको छ । जस्ताले छाएका दुईतले पक्की घरमा दिउँसो २ बजे आगलागी भएको चौदण्डीगढी नगरपालिका प्रमुख कालुमान लामाले बताए ।
चौदण्डीगढी नगरपालिका, सप्तरीको कञ्चनपुर नगरपालिका र रौतामाई गाउँपालिकाको दमकलसहित स्थानीय र प्रहरीको प्रयासबाट २ घण्टापछि आगो निभाइएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर बबिन राईले बताए । आगलागीबाट १ करोड २२ लाख बराबरको भौतिक क्षति भएको उनले जानकारी दिए ।
