काठमाडौँ — नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध रहेको जनाएको छ । नेपाली सेनालाई जोडेर विभिन्न टिकाटिप्पणी आउन थालेपछि बुधबार सैनिक मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो प्रतिबद्धता सार्वजनिक गरेको गरेको हो ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको सेनाले बताएको छ ।
केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोतर्फ पनि सेनाले ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको वक्तव्यमा भनिएको छ ।
नेपाली सेनासम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थ परक सूचनाहरू सम्प्रेषण गर्न सेनाले अनुरोध समेत गरेको छ ।
