काठमाडौँ — त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइटको काम आगामी वैशाखमा सकिने शहरी विकास मन्त्रालयले कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडान कार्य आगामी वैशाखभित्र सम्पन्न गर्ने जनाएको छ ।
मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी वित्तिय प्रगति सार्वजनिक गर्दै उक्त काम ०८२ वैशाख २४ गते भित्र सम्पन्न गर्ने दाबी गरेको हो ।
'कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्यारापिट निर्माण कार्य र फ्लडलाइट जडानको काम ०८१ फागुनमा सम्झौता भई २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव नारायण मैनालीले बताए ।
मन्त्रालयले गत असोज ३ बाट धरहरा सञ्चालन भएपछि २ करोड ३७ लाख बढी राजस्व संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।
स्थानीय तहबाट हुने सार्वजनिक सेवा प्रवाह सहज रूपमा दिने उद्देश्यका साथ मन्त्रालयले ६८ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य थियो । हालसम्म ३६ वटा स्थानीय तहको प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न गरी सार्वजनिक सेवा सुचारु भएको मन्त्रालयले जनाएको छ । '१२९ वटा पालिकाका प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेका छन्', उनले भने, 'त्यसै गरी गणेशमान स्मृति समावेशी भवन निर्माण कार्य पनि अन्तिम चरणमा छ।'
