राप्रउले छाडेको ‘मीमांसा’

महाभारतका पात्र नल–दमयन्तीका प्रेमकथा लेख्न खोजेका थिए मदनमणि दीक्षितले, तर राप्रउ नै हुन्, जसले दीक्षितलाई ‘माधवी’ लेख्न सल्लाह दिए

चैत्र ५, २०८१

दीपक सापकोटा

”Mimamsa” left by Raprau

काठमाडौँ — ८२ वर्षको उमेरमा सोमबार महाप्रस्थानमा गएका नेपाली साहित्यका चिन्तक, बौद्धिक लेखक राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल) माथि सटिक समीक्षा गरे आख्यानकार नारायण ढकालले– उनी महाभारत, पुराण र पूर्वीय वाङ्मयको अध्ययनले खारिएका चिन्तक थिए, जसमा कार्ल मार्क्सको भौतिकवादी पद्धति र दर्शनको प्रभाव मिश्रित थियो ।

नारायण ढकालको यो समीक्षा केवल गुणगान–परिपाटीको निरन्तरता होइन, एक श्रद्धेय लेखकप्रतिको इमानदार अभिव्यक्ति हो । 

अर्का विद्वान मदनमणि दीक्षितलाई पूर्वीय दर्शनको विशद् ज्ञानले भरिएको उपन्यास ‘माधवी’ लेख्न सुझाएका थिए– राप्रउ पोखरेल (१९९९ असोज–२०८१ चैत ४) ले । ‘माधवी’ माथि सम्भवतः नेपाली साहित्यमा सबैभन्दा बढी लेखियो र बोलियो । त्यो ‘टफ टेक्स्ट’, ‘अद्भुत आख्यान’ को पहिलो–श्रोता, पाण्डुलिपि–पाठक तिनै राप्रउ थिए, जो मदनमणिका असली मित्र थिए । ‘सुरुमा महाभारतका पात्र नल–दमयन्तीको प्रेमकथा लेख्न खोजेका थिए मदनमणि दीक्षितले, तर राप्रउ नै हुन्, जसले दीक्षितलाई ‘माधवी’ लेख्न सल्लाह दिए,’ नारायण ढकाल भन्छन्, ‘त्यो बृहत् आख्यान सुन्ने प्रथम स्रोता राप्रउ थिए, जसले किताब परिमार्जनका लागि निकै सल्लाह सुझाव दिएका थिए ।’ 

मदनमणि दीक्षितसँगको लामो सत्संगमाथि यो पंक्तिकारसँग राप्रउले विमर्श गरेका थिए । ती विद्वानबारे राप्रउ भन्थे– मेरो घनिष्ठ सान्निध्यको अनुभवमा मदनमणिमा गम्भीरता र विनोदप्रियता, जटिलता र सरलता, क्रोध र करुणा, विनयशीलता जस्ता मानवीय गुण थिए । शिष्ट, अनुशासनप्रिय एवं समयलाई कठोरतापूर्वक पालना गर्ने स्वभाव थियो दीक्षितमा । तर, व्यक्ति मदनमणिमा कुनै अलौकिकता थिएन ।’

राप्रउ असलमा थिए– एक बौद्धिक, तर उनी बाँच्थे अति सामान्य मानिसको जिन्दगी । नारायणका विचारमा मानिसका रूपमा असाध्यै सरल, सज्जन र भद्रताका पराकाष्ठा थिए– राप्रउ । ‘केशरजंग रायमाझी पाठशालामा दीक्षित उनी वामपन्थी आन्दोलनका एक हिस्सा थिए ।  कला र विचारमाथि उनमा जुन अवधारणा बनेको थियो, त्यो आन्दोलनबाटै निर्मित थियो । राप्रउ मार्क्सवादी थिए, पछि राष्ट्रियताको पक्षमा पुगे । उनी खासमा महेन्द्रको राष्ट्रवादबाट प्रभावित थिए, तर महेन्द्रको प्रजातन्त्रविरोधी कदमको कडा विरोधी । उनी पृथ्वीनारायणको राष्ट्रिय एकीकरण अभियानका प्रबल समर्थक पनि थिए ।’

सनातनी राष्ट्रवादमाथिको अतिमोहले नै महेन्द्रप्रति आफू बढी सकारात्मक भएको पंक्तिकारलाई बताउँथे राप्रउ । ‘फलस्वरूपः उनी भिन्नभिन्न राष्ट्रियताहरू र सांस्कृतिक अनेकतामा एकता खोज्न सकिन्छ भन्ने प्रगतिशील र पुनर्जागृत राष्ट्रवादी विचारमा सहमत हुन सकेका छैनन्,’ ‘हिन्दु दर्शन, मार्क्सवाद र राष्ट्रवादको मीमांसा’ निबन्धमा नारायण ढकालले लेखेका छन् । 

मदनमणि दीक्षितको मात्रै होइन, नारायण ढकालको आख्यानका पाण्डुलिपि पनि पठन गर्थे राप्रउ । जस्तो ‘प्रेतकल्प’ उपन्यास पढेर, त्यस आख्यानको पात्र पण्डित बालकृष्णमाथि राप्रउको एक–बुँदे सुझाव थियो– त्यत्रो आचार्य पास गरेको मान्छे, त्यो जमानामा पनि कहीँ हल्लेर बस्छ ? यो त भएन ढकालजी ! ‘प्रेतकल्प’ उपन्यासमा बाबु रामकृष्ण शर्मा र आमा मन्नोदरीको छोरा बालकृष्णले सुधारवादी सोचकै कारण अनेक तनावका शृंखलाहरूमा फस्नुपरेको कथा छ । ‘राप्रउ असाध्यै असल पाठक थिए’, नारायण भन्छन्, ‘नयाँ पुस्तालाई पढ्ने र तीसँग जोडिने अद्भूत क्षमता थियो उनमा ।’ 

चिन्तक राप्रउ पोखरेल कथाकार पनि थिए । उनको असरदार कथा थियो– ‘रनियाको पंचैती’, जसले मधेशको पंचैती व्यवस्था र महिलाहरूको दुःख बयान गर्छ । ‘अभिव्यक्ति’ (भदौ–असोज २०६५, पूर्णांक १३८) मा पहिलोपटक प्रकाशित त्यो कथालाई सम्पादकद्वय परशु प्रधान र नारायण तिवारीले ‘तराई–मधेशका कथा’ कथासंग्रहमा संग्रृहित गरेका थिए । ‘राप्रउका कथा असाध्यै कम छन्’, कथाकार नारायण तिवारी भन्छन्, ‘तर, जति छन्, सबै प्रभावशाली–प्रभावकारी छन् ।’

राप्रउका ‘धर्मनिरपेक्षता कि धार्मिक विस्तारवाद ?’, ‘सर्वधर्म समभाव’, ‘मन्दोदरीदेखि मार्क्ससम्म’ किताब प्रकाशित छन् । उनको पछिल्लो किताब ‘विचार मीमांसा’ प्रकाशित थियो, जसमा धर्म–संस्कृति, साहित्य र विद्वानहरूमाथि गम्भीर विमर्श गरिएको छ । किताबमा धर्म परिभाषा, त्यसको उद्भव, विकास र उपयोगितामाथि व्याख्या छ । 

महोत्तरी, बिजलपुरामा जन्मेका राप्रउ २०१७ सालदेखि कम्युनिस्ट राजनीतिमा आबद्ध थिए । र, २०३० को दशकमा पार्टी राजनीति छाडेर लेखन–पठन र जागिरमै व्यस्त रहे । काठमाडौं सिफलमा थियो उनको घर । उनी महोत्तरीको बिजलपुरामा शिक्षक थिए, त्यसपछि पर्यटन मन्त्रालयमा अधिकृत भए, नेपाल नागरिक उड्डयन प्राधिकरणको उपसचिव भई जागिरे–जीवनबाट अवकाश लिए । उपाध्यायका चार छोरी छन् । 

दीपक सापकोटा कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully