अनेरास्ववियुले गर्‍यो मध्यरातमा आरआर क्याम्पसमा तालाबन्दी

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

ANERASWVIU locked down RR campus at midnight

काठमाडौँ — नेकपा एमालेको अनेरास्ववियु र एकीकृत समाजवादीको अनेरास्ववियूले आरआर क्याम्पसमा मध्यराति ताला लगाएका छन् ।

निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलोमतोमा फर्जी विद्यार्थी परिचयपत्र डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्डहरु प्रशासनबाटै वितरण गरिएको भन्दै दुई समूहले ताला लगाएका हुन् । 

निष्पक्ष छानबिन नहुँदासम्म स्ववियु निर्वाचन हुन नसक्ने प्रेस दुई संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आरआर क्याम्पसमा नेकपा एमालेको अनेरास्ववियु र एकीकृत समाजवादीको अनेरास्ववियू सहकार्य गरी साझा प्यानलमा चुनावी मैदानमा उत्रिएका थिए । 

अनेरास्ववियुको पकड मानिएको आरआरमा २०३६ सालदेखि आरआरमा स्ववियू चुनाव हुन लागेदेखि ४५ वर्षमा अनेरास्ववियुले हार बेहोर्नु परेको छैन ।

तर अहिले दुई ठूला संगठनले सहकार्य गरेर अगाडि बढ्दा पनि हार्ने डरले निर्वाचनबाट भाग्न खोजेको आरोप नेपाल विद्यार्थी संघका अध्यक्ष विनोद राज जोशीले लगाएका छन् । 

क्याम्पसमा स्ववियु निर्वाचनको लागि सम्पूर्ण तयारी भइसकेको अवस्थामा प्रवेशद्वारमा तालाबन्दी भएको र असहज वातावरण निर्माण भएको भन्दै निर्वाचन स्थगित भएको छ ।

कान्तिपुर

Link copied successfully