चालु आर्थिक वर्षको फागुनसम्म ५ करोडभन्दा बढी अवैध विदेशी मुद्रा बरामद
काठमाडौँ — हरेक महिना औसतमा ६२ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद हुने गरेको छ । प्रहरीले चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न ठाउँबाट ५ करोडभन्दा बढी अवैध विदेशी मुद्रा बरामद गरेको छ ।
सोमबार राति मात्रै काठमाडौंको टोखाबाट प्रहरीले ट्रकभित्र लुकाएर राखिएको ठूलो परिमाणको विदेशी मुद्रा बरामद गर्यो । चालक बस्ने क्याबिनको माथिल्लो भागमा फल्सबटम बनाई लुकाएको २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँ बराबरको डलर र युरोसहित चालक कुसाङ लामा पनि पक्राउ परे ।
स्रोत नखुलेको रकम कारोबारमा नेपाली र विदेशी दुवै छन् ।
चालु आर्थिक वर्षको फागुनसम्म ९७ हजार १ सय ५७ अमेरिकन डलर, ८७ हजार ५० युरो, ७ हजार २ सय स्विस फ्रांक, ४६ हजार २ सय क्यानडियन डलर, २ सय ४९ सिंगापुर डलर प्रहरीले बरामद गरेको छ । यस्तै, ४० लाख ३५ हजार जापानी येन, ५७ हजार साउदी रियाल, ४० हजार ५ सय २० थाई भाट, १ सय मलेसियन रिंगेट र ७१ लाख ७ हजार ३ सय ४० भारु मुद्रा प्रहरीले बरामद गरेको हो ।
सबै बरामद मुद्राको नेपाली रुपैयाँ ५ करोड ३७ लाख ५२ हजार ६ सय १५ हुन्छ । यो अवैध मुद्रा कारोबारमा नेपाली २५ र विदेशी २२ नागरिक पक्राउ परेका थिए ।
प्रहरीसँग पछिल्लो ६ आर्थिक वर्ष २०७५ /२०७६ देखि २०८०/२०८१ सम्म स्रोत नखुलेको ३४ करोड २७ लाख ५१ हजार ५८१ रुपैयाँ बरामद भएको तथ्यांक छ। २०७५/०७६ मा १ करोड ५९ लाख १० हजार ९५९, २०७६/०७७ मा ८९ लाख ५ सय, २०७७/०७८ मा ७ करोड २९ लाख २७ हजार ८ सय ५०, २०७८/०७९ मा ११ करोड ५४ लाख ४४ हजार ६२४, २०७९/०८० मा ५ करोड ५३ लाख ८७ हजार ६०८ रुपैयाँ र २०८०/०८१ मा ७ करोड ४१ लाख ८० हजार ४० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार यसरी बरामद भएको रकम भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयमा पुग्छ । ‘स्रोत नखुलेको रकमका विषयमा अनुसन्धान पूरा भएपछि भने कानुनअनुसार नेपाल सरकारको राजस्वमा दाखिला हुन्छ । तर, स्रोत नखुलेको रकम चोरी, ठगी वा अन्य केहीबाट आएको हो भने सो विषयमा समेत अनुसन्धान गरेर मुद्दा चल्ने गरेको छ,’ आचार्यले भने, ‘१० लाखभन्दा माथिको रकम भेटिएमा स्रोत खुलाउनपर्ने नियम छ । ’
नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल स्रोत नखुलेको रकमको परिमाण बढ्दा यसले प्रत्यक्ष रूपमा देशकै अर्थतन्त्रमा असर पर्ने बताउँछन् । बैंकिङ कारोबारसँग देशको राजस्व र कर यसले असर पुर्याउने उनले बताए ।
